जटिल संक्रमित गाउँमै निको

भेन्टिलेटरमा गएपछि बिरामी आफैं अत्तालिएर मृत्यु हुने 

श्रावण ३१, २०७८

प्रकाश बराल

बागलुङ — साउन ३ गते उनलाई खान मन लागेन । खोकी लाग्यो । कोरोना संक्रमणको शंकामा पीसीआर गराए । पीसीआर रिपोर्ट आउँदासम्म उनको अक्सिजन लेबल घटेर ८५ पुगेर श्वास फेर्न अप्ठ्यारो भइसकेको थियो । काठेखोला गाउँपालिका–५ को रिजालचोकमा होटल गरेर बसेका ताराखोला गाउँपालिका–२ का ६५ वर्षीय कर्णबहादुर रोका कोरोना संक्रमित भएपछि उपचारका लागि सहर जानुपर्नेमा गाउँ फर्किए ।

स्वास्थ्यकर्मीले सदरमुकामस्थित धौलागिरि अस्पताल जान सुझाए । तर उनी मानेनन् । आफ्नै गाउँपालिकाले बनाएको कोभिड अस्पतालमा गए । बस्दाबस्दै उनको अक्सिजन निरन्तर घटिरह्यो । संक्रमणको दोस्रो साता उनको अक्सिजन लेबल घटेर ३३ पुगेको ताराखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उदित थापाले बताए । ‘भेन्टिलेटरमा राखेर पनि बचाउन नसक्ने अवस्था हुँदा पनि उहाँले अस्पताल जान मान्नुभएन,’ थापाले भने, ‘मलाई गाउँकै कोभिड अस्पतालमै राखिदिनुहोस् भनिरहनुभयो ।’

छिमेकी र स्वास्थ्यकर्मीले पनि आस मारेर खान मन लागेको खुवाउनुहोस् भनेर छाडिदिए । पत्नी देउमतीले लोकल कुखुराको सुप बनाएर खुवाइन् । सुप खाएको बेलुकीबाट उनको अक्सिजन क्रमशः बढ्न थाल्यो । स्वाद पनि थाहा पाउँदै गए । स्वास्थ्यमा पनि सुधार हुँदै गयो । ‘मैले तीन दिन होस पनि पाइन, मरे पनि गाउँमै मर्छु भनेको थिएँ, त्यसैले अनुमतिबिना अन्यत्र 

पठाउन मानेनन्,’ रोकाले भने, ‘स्वाद थाहा पाउन थालेपछि माछा र लोकल कुखुराको सुप खाँदा निको भयो ।’ समस्या भयो भनेर सदरमुकाम र पोखरा पुगेकाहरू फर्केर नआएकोले उनले जानै नमानेको देउमतीले बताइन् । 

ताराखोलाले बनाएको आइसोलेसन तथा कोभिड अस्पतालमा अर्गानिक खाना खुवाइन्छ । बिरामीलाई तागत दिने खाना खुवाउने र स्वास्थ्यकर्मीले नियमित उपचारमा खटिँदा धेरै जना निको भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘स्वास्थ्यकर्मीले निकै मिहिनेत गरेकाले सफलता मिलेको छ,’ घर्तीले भने, ‘खाना पनि अर्गानिक खुवाइन्छ ।’ दालभात तरकारी सँगै ढिंडो, सागपात, जौं र गहुँको सातु तथा रातो च्याउको सुप खान पाएको रोकाले बताए ।

उनी २६ दिन कोभिड अस्पतालमा बसे । कन्सन्ट्रेटरबाट अक्सिजन लिए । पत्नी देउमती पनि चौबिसै घण्टा खटिइन् । शनिबार सामान्य अवस्थामा फर्केपछि रोका डिस्चार्ज भएका छन् । ‘अहिले उहाँको अक्सिजन लेबल ९० भन्दामाथि छ । स्वस्थ्य पनि हुनुभयो, खाना पनि खानुहुन्छ,’ थापाले भने । गलकोट नगरपालिका–१० रमुवाका ४ संक्रमित पनि उपचारका लागि ताराखोला आएका छन् । अहिले ताराखोलामा १७ संक्रमितको उपचार भइरहेको छ । 

रोकाले भने भेन्टिलेटरमा गएपछि बिरामी निराश भएर मृत्यु हुने गरेको बुझेर सहरमा नगएको बताए । उनले सबै उपचारसमेत निःशुल्क पाएपछि खानाको मात्रै भए पनि पैसा तिर्ने योजना बनाए । त्यसैले उनले कोभिड अस्पतालको व्यवस्थापनका लागि भन्दै १५ हजार नगद सहयोग गरे । यस अघि पनि ताराखोलामा एक सय जनाभन्दा बढीको उपचार भइसकेको छ । अर्गानिक खानाले रोग प्रतिरोधात्मक शक्ति बढाएको सबैले अनुभूति गरेको थापाले बताए । 

कोरोना भाइरस

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully