कोसी अस्पतालमा अक्सिजन उत्पादन सुरु- समाचार - कान्तिपुर समाचार

कोसी अस्पतालमा अक्सिजन उत्पादन सुरु

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित कोसी अस्पताल परिसरमा अक्सिजन उत्पादन सुरु गरेको छ । अमेरिका–नेपाल फाउन्डेसनले १ करोड ७ लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेपछि उत्पादन सुरु भएको हो । 

३ सय ५० शय्या क्षमताको कोसी अस्पताललाई सामान्य अवस्थामा यस प्लान्टबाट उत्पादन हुने अक्सिजन बिरामीका लागि पर्याप्त हुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

‘अक्सिजन प्लान्टबाट २४ घण्टामा १ सय ठूलो सिलिन्डर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘कोरोना महामारी नहुँदाको अवस्थामा अक्सिजन प्लान्टमा हुने उत्पादनले बिरामीका लागि अक्सिजन पर्याप्त हुन्छ ।’ डाइग्नोकमले परीक्षण उत्पादन गरेर हस्तान्तरण गरेको उनले सुनाए । अक्सिजन प्लान्टबाट सोझै अस्पतालका प्रत्येक वार्डको शय्यामा पुर्‍याउने पाइपलाइनिङ गरिएको दासले बताए । उनले खपत नभएका अक्सिजन सिलिन्डरमा भरेर राख्नेसमेत व्यवस्था गरिएको बताए ।

डा. दासले कोरोना बिरामीका कारण अहिले अस्पतालमा दैनिक डेढ सय सिलिन्डर खपत भइरहेको बताए । ‘कोरोना महामारीका बेला दैनिक ३ सयदेखि ४ सय सिलिन्डर खपत भइरहेको थियो,’ उनले भने, ‘अस्पतालको स्तरोन्नति गरेर ५ सय शय्यामा पुर्‍याउन भवन निर्माणको काम सुरु भइसकेकाले सामान्य अवस्थामा पनि अहिले स्थापना भएको अक्सिजन प्लान्टले धान्दैन तर अहिलेलाई कोरोनाबाहेकका बिरामीलाई पर्याप्त हुन्छ ।’

क्षमता विस्तार भएपछि अक्सिजनको माग बढ्ने भएकाले थप अर्को अक्सिजन प्लान्टका लागि नेपाल चिकित्सक संघ कोसीको सहकार्यमा सूची फाउन्डेसनसँग पहल भइरहेको डा. दासले बताए । डाइग्नोकम इन्टरनेसनल काठमाडौंले अक्सिजन प्लान्टका लागि उपकरण आपूर्ति गरी जडान गरेको उनले बताए ।

प्रकाशित : श्रावण १३, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

ग्रामीण सडकमा ‘अस्फाल्ट कंक्रिट’

कान्तिपुर संवाददाता

सिन्धुली —  जिल्लामै पहिलो पटक ग्रामीण सडकको कालोपत्र गर्न विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने प्रविधि ‘अस्फाल्ट कंक्रिट’ प्रयोग गरिएको छ । मेलङ गाउँपालिकाको पवटीदेखि भेडपुसम्मको १२ किमि सडक यो प्रविधिबाट  कालोपत्र गरिएको हो ।

स्थानीय पूर्वाधार विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर पारस पाण्डे भन्छन्, ‘अन्य प्रविधिभन्दा यो प्रविधि केही महँगो हुन्छ तर वर्षौंसम्म कालोपत्र टिक्छ ।’

सडकको दिगोपनका लागि भन्दै सरकारले ग्रामीण सडक कालोपत्र गर्न यो प्रविधिलाई जोड दिँदै आएको छ । जसअनुरूप एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड रुपैयाँको लागतमा एआईपीए एनसीसी जेभीले पवटी–भेडपु सडक कालोपत्र गरेको हो । इन्जिनियर पाण्डेका अनुसार हाल वाग्मती प्रदेशका ७ जिल्लाका ग्रामीण सडकमा यो प्रविधि प्रयोग गरी १ सय १५ किमि सडक कालोपत्र भइसकेको छ । सातै प्रदेशका १६ जिल्लामा २६ वटा सडकको पनि यही प्रविधिबाट कालोपत्र गरिएको छ । जसको लम्बाइ ३ सय ८० किमि छ ।

यी सबै सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजानाअन्तर्गत कालोपत्र भएको हो । ‘सडक कालोपत्रे गर्ने प्रविधिमध्ये मँहगो प्रविधि प्रयोग गरेर सडक कालोपत्र भइरहेको हो,’ उनी भन्छन्, ‘सामान्यतया अस्फाल्ट कंक्रिट प्रविधिको प्रयोग धेरै गाडी गुड्ने सडकमा गरिन्छ । धेरै भार थेग्ने र वर्षौं टिकाउ पनि हुन्छ ।’

आयोजनाले पहिलो पटक कार्यक्षमतामा आधारित मर्मतसम्भारसमेत लागू गरेको छ । जसअन्तर्गत कालोपत्र गरिएको ३ वर्षसम्म उक्त सडकको मर्मतसम्भार पनि निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । अन्य प्रविधिका हकमा कालोपत्र गरिएपछि एक वर्ष मात्रै निर्माण कम्पनीले रेखदेख गर्नुपर्ने नियम छ । अस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्र गर्ने निर्माण कम्पनीसँग आफ्नै प्लान्ट हुनुपर्ने सर्तसमेत आयोजनालेराखेको छ ।

प्रकाशित : श्रावण १३, २०७८ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×