१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘खोपले मृत्युबाट जोगाउन सक्छ, संक्रमणबाट होइन’

सबैमा खोप सुनिश्चित गर्न सके नयाँ भेरिएन्ट आए पनि दोस्रो लहरजस्तो अवस्था भयावह हुँदैन : विज्ञ
अतुल मिश्र

काठमाडौँ — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) को हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्‍यो भने ०.४ प्रतिशतको मात्र मृत्यु भयो ।

‘खोपले मृत्युबाट जोगाउन सक्छ, संक्रमणबाट होइन’

छिमेकी मुलुक भारतमा गरिएको यो अध्ययनले कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाउँछ ।

यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि अर्को अध्ययनले दाबी गरेको छ । ‘टाइम्स अफ इजरायल’ मा प्रकाशित इजरायलको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनबारेको समाचारअनुसार खोप लिएका १० प्रतिशत व्यक्तिले एक जनासम्मलाई संक्रमण फैलाउन सक्छन् भने खोप लिएका ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्छन् । ७ प्रतिशतले संक्रमण फैलाउन पनि सक्छन् वा नफैलाउन् पनि सक्छन् । इजरायल सरकारले रेस्टुरेन्ट, जिम, इभेन्ट हल, म्युजिक कन्सर्टलगायतका स्थानमा पुगेर व्यक्तिको नमुना लिई अध्ययन गरेको थियो । इजरायलको करिब ६० प्रतिशत जनसंख्याले पूर्ण रूपमा खोप लिइसकेको छ ।

नेपालमा भने खोप लगाएकाहरूमा देखिएको संक्रमण अवस्थाबारे तथ्यांक संकलन भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । हालसम्मको प्रारम्भिक विश्लेषणअनुसार दुई डोज खोप लगाएकाहरू पनि अस्पताल त भर्ना भएका छन् तर यो संख्या निकै कम छ । मंगलबारसम्ममा ३४ लाख ६२ हजार ३ सय ४० जनाले पहिलो डोज र १४ लाख ५७ हजार ६ सय ७० जनाले पूर्ण डोज खोप लगाइसकेका छन् । हालसम्म नेपालमा खोप लगाउने जनसंख्या ११ प्रतिशतभन्दा बढी पुगेको छ ।

दोस्रो लहर सुरु हुँदा करिब ६० प्रतिशतमा अल्फा भेरिएन्ट भेटिएको र हाल करिब शतप्रतिशतमै डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् । पछिल्लो दुई सातादेखि डेल्टाबाहेक अन्य भरिएन्ट नदेखिएको उनको भनाइ छ । अल्फा भेरिएन्ट कोभिडको प्रारम्भिक (ओरिजिनल) भेरिएन्टको दाँजोमा ६० प्रतिशतभन्दा बढी संक्रामक छ । डेल्टा अल्फाभन्दा पनि ६० प्रतिशत बढी संक्रामक हो । उनका अनुसार पूर्ण डोज खोप लगाएपछि पनि संक्रमित भएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी र सम्पर्कमा आएका व्यक्तिमा रोगको कडापन खासै देखिएन । ‘खोप लगाएकाहरूमा कोमर्बिडिटी (एकभन्दा बढी दीर्घ रोग) भए पनि कडा र जटिल संक्रमण देखिएन,’ उनले भनिन् ।

दसैंताका कोभिडको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारी निकायलगायत विज्ञहरूले दिँदै आएका छन् । तर खोपको उपलब्धता विस्तार गर्ने हो भने भयावह अवस्थाबाट जोगिन सक्ने विज्ञ बताउँछन् । ‘हालसम्म जुनुसुकै भेरिएन्ट आए पनि पहिले नै बनेको एन्टिबडी र खोपको केही न केही असर देखिएको छ,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘अब खोप कार्यक्रमलाई तीव्रता दिनुपर्छ । सबैमा खोप सुनिश्चित गर्न सक्यौं भने नयाँ भेरिएन्ट आए पनि दोस्रो लहरको दाँजोमा अवस्था भयावह हुँदैन ।’ केही महिनायताको अवस्थाले संक्रमण नियन्त्रणमा खोप नै प्रभावकारी देखिएको उनले बताए । एक वा दुई डोज खोप लगाएकामा समेत संक्रमण देखिए पनि गम्भीर समस्या नदेखिएको उनको भनाइ छ ।

‘एक डोज खोप लगाएर शरीरमा एन्टिबडी बनिसकेकामा समेत दुई डोज लगाएको जस्तै प्रतिरोधक क्षमता देखिएको छ,’ उनले भने, ‘खोपको विकल्प छैन भन्ने त पछिल्लो केही महिनाको अवस्थाले नै स्पष्ट पारिसकेको छ ।’ नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटी एवं कोरोना खोप परिचालन समन्वय समितिका सदस्य डा. जीडी ठाकुर भने सवा दुई करोड नेपालीलाई खोप सुनिश्चित भएपछि मात्र संक्रमणको अवस्थामा सकारात्मक परिवर्तन देखिने बताउँछन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को हालैको अध्ययनअनुसार खोपको पूर्ण डोज लगाएपछि पनि संक्रमण भइरहेको छ । यसको कारण कोभिडको डेल्टा भेरिएन्ट हो । अध्ययनले अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाए पनि संक्रमण हुनबाट नजोगाउने उल्लेख गरेको छ । यो भाइरसबाट संक्रमणको खतरा अझै कायमै छ । खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यु हुनबाट धेरै हदसम्म जोगाउन सक्छ ।

डब्लूएचओबाट प्रस्तावित खोप

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म सुरक्षा र प्रभावकारिताका लागि आवश्यक मापदण्ड पूरा गरेका कोभिड–१९ विरुद्घका खोप ६ वटा रहेको जनाएको छ । जसमा अक्सफोर्ड–अस्ट्राजेनेकाले उत्पादन गरेका विभिन्न नामका खोप, जोन्सन एन्ड जोन्सनको जान्सेन, मोडर्ना, बायोएनटेकको फाइजर, बायोटेकको सिनोभ्याक र सिनोफार्मको भेरोसेल छन् । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन खोप लगाइएको छ । यी खोप डब्लूएचओले विश्वव्यापी रूपमा स्वीकृति दिएको हो ।

संक्रमित गम्भीर हुनबाट र मृत्युबाट यी स्वीकृत खोपले उच्चस्तरको सुरक्षा प्रदान गर्ने डब्लूएचओले जनाएको छ । शतप्रतिशत सबैलाई सुरक्षा दिन नसक्ने भएकाले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड अपनाउन डब्लूएचओले आग्रह गर्दै आएको छ ।

औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन अनुमति दिएका खोप ६ वटा छन् । विभागका वरिष्ठ औषधि व्यवस्थापक डा. सन्तोष केसीका अनुसार कोभिसिल्ड, जान्सेन, स्पुतनिक–भी, कोभ्याक्सिन, सिनोभ्याक र सिनोफार्मका खोपले अनुमति पाएका हुन् ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?