काठमाडौँ — अनुमति लिएका निजी क्षेत्रका सीमित व्यक्ति र कम्पनीले कोभिड–१९ विरुद्धको खोप ल्याउन नसकेपछि सरकारले अरू व्यक्ति र कम्पनीलाई पनि अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले खोप कम्पनीसँग सम्बन्ध भएका व्यक्तिले खोप ल्याउन चाहे अनुमति दिन सकिने नीतिगत निर्णय भइसकेको जानकारी दिए । ‘लाइसेन्स लिएकाले खोप ल्याउन नसके अर्को तयार हुने बाटो खोलिदिएका हौं,’ उनले भने ।
विभागले गत चैत १ मा खोप आयात गर्न चाहने निजी कम्पनीबाट अनुमतिका लागि निवेदन आह्वान गरेको थियो । जसअनुसार भारत बायोटेक कम्पनीले उत्पादन गर्ने कोभ्याक्सिन ल्याउन इमरल्ड फर्मा, रुसको गमालिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ का लागि लोमस फर्मास्युटिकल्स र सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन कोभिसिल्ड आयात गर्न हुकम फर्मास्युटिकल्सले अनुमति पाएका थिए ।
नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको चीनको भेरोसेल खोपका लागि नेपालमा छुट्टै प्रतिनिधि छैनन् । ‘आयातको लाइसेन्स लिएर खोप नल्याउने भन्ने हुँदैन । अर्को व्यक्ति वा कम्पनीले चाहेमा हामी अनुमति दिन्छौं,’ विभागका महानिर्देशक भट्टराईले भने, ‘कुनै एउटा कम्पनीको खोप एकभन्दा बढी व्यक्ति र कम्पनीले प्रतिस्पर्धा गरेर छिटो ल्याऊन् भनेर यस्तो निर्णय गरिएको हो ।’
आयात अनुमतिका लागि खोप उत्पादन गर्ने कम्पनीको मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा, शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत राखेर नयाँ कम्पनीले मूल्य प्रस्ताव गर्नुपर्ने हुन्छ । प्रस्ताव गर्दा खोपमा आपूर्ति गर्न सकिने परिमाण र लाग्ने समयको प्रक्षेपणसमेत पेस गर्नुपर्छ । यसअघि तीन कम्पनीका नेपाली एजेन्टले यही प्रक्रिया पूरा गरी आयात अनुमति पाएका थिए । चीनको लाइफ साइसेन्स कम्पनीले उत्पादन गरेको सिनोभ्याकका लागि भने नेपाल एजेन्टको आधिकारिकता टुंगो लाग्न बाँकी भएकाले विभागले आयात अनुमति दिएको छैन । कोभिसिल्ड एक मात्राको १ हजार ७ सय, कोभ्याक्सिनको २ हजार ६ सय, स्पुतनिक भी दुई मात्राको ३ हजार ४ सय रुपैयाँमा बिक्री गर्न सकिने गरी विभागले अनुमति दिइसकेको छ ।
भारत र चीनबाट ४२ लाख ४८ हजार मात्रा खोप ल्याइसकिएको छ । तर ती निजी क्षेत्रबाट ल्याइएका होइनन् । हालसम्म ३५ लाख ४५ हजार ६ सय ७५ जनाले खोप लगाइसकेका छन् । यसमध्ये ९ लाख ३३ हजार ८ सय ६८ जनाले दोस्रो डोज पनि लगाइसकेका छन् । सरकारले चीनबाट थप ४० लाख मात्रा खोप खरिद गर्दै छ जसमध्ये ८ लाख शुक्रबार नेपाल ल्याइँदै छ । साउन पहिलो सातासम्म ३० लाख खोप ल्याइसक्ने सरकारको योजना छ । त्यस्तै अमेरिकाको जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप ल्याउने प्रक्रियासमेत सुरु भएको छ । कोभ्याक्स सुविधामा उक्त खोप ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । सरकारले अमेरिकामा बनेको मोडर्ना खोप ल्याउनसमेत पहल सुरु गरेको छ । ‘विश्व स्वास्थ्य संगठनको अनुमति पाएको खोप आयात गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक भट्टराईले भने, ‘हामीले प्रक्रिया पूरा गरिदिने मात्रै हो ।’
खोप ल्याउन चीन उड्यो वाइडबडी
सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी बिहीबार साँझ चीनको बेइजिङ पुगेको छ । निगमका अनुसार चालक दलका १२ सदस्यसहित गएको जहाज शुक्रबार बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ ।
पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघण्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।
निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।
