कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख १ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी पुगेको छ ।

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

कोरोना संक्रमणबाट मृत्यु हुने संख्याको एक तिहाई संख्या अमेरिका, ब्राजिल र भारतका मात्रै छन् । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६ लाख ६० हजारको कोरोनाबाट मृत्यु भएको छ । अमेरिकामा ३ करोड ३७ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । त्यस्तै ब्राजिलमा ५ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने भारतमा करिब ४ लाख ५ हजारको मृत्यु भएको छ ।

कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइएका कारण पछिल्लो समय अमेरिका र युरोपमा भने संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ । तर खोप उपलब्ध गराउन समस्या भोगिरहेका इन्डोनेसियालगायतका मुलुकमा भने कोरोना संक्रमण बढिरहेको सीएनएनले उल्लेख गरेको छ ।

पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टका कारण विश्वका विभिन्न मुलुकमा संक्रमण बढिरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा देखिएको नयाँ संक्रमितमध्ये आधामा डेल्टा भेरियन्ट देखिएको छ ।

कुनै बेला विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार ७ सयसम्मको मृत्यु भएकोमा पछिल्लो हप्ता भने दैनिक ७ हजार ९ सयको मृत्यु भएको छ ।

प्रकाशित : असार २४, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?