२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जहिल्यै खानको पिरलो

अपांगता भएका, सीमान्तीकृत र दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवार भोकमरीको चपेटामा
विद्या राई

काठमाडौँ — हनुमानढोकापछाडि एक आना जग्गामा बनेको सानो र पुरानो घर छ । भूकम्पले चिराचिरा परेको घरमा एकअर्काको भर मानेरै ५४ वर्षीया सानुछोरी महर्जन र छोरी २२ वर्षीया हसिना बस्छन् । दुवै अशक्त र अपांग छन् ।

जहिल्यै खानको पिरलो

उनीहरूको आयआर्जन छैन । बसिरहेको घर पनि छिमेकीले कागजपत्र मिलाएर हडपिसकेका छन् । घर छोडेर जानलाई दबाब दिइरहन्छन् । महँगी बढेर बिहान–बेलुकीको छाक टार्न पनि हम्मे परिसकेको उनी बताउँछिन् । ‘घिरौंलै पनि किनेर खान गाह्रो भइसक्यो, यस्तै हो भने कसरी पेट पाल्ने, छोरी स्याहार्ने ?’ उनले थपिन् ।

हसिनामा जन्मैदेखि बौद्धिक अपांगताको समस्या छ । हिँडडुल, खाना खाजा, सरसफाइलगायत सबैका लागि सहयोगी चाहिन्छ । चौबीसै घण्टा छोरीको हेरचाहमै खटिनुपरेपछि सानुछोरी काममा निस्कन पाउँदिनन् । छोरीको सामाजिक सुरक्षा (अपांग) भत्ताले घर खर्च चलाउँदै आएकी छन् । तर निषेधाज्ञामा बढेको महँगीले उनीहरूको चुलो कति बेला निभ्ने हो टुंगो छैन ।

गत वर्षको लकडाउनमा दाल, चामल राहत पाएर उनीहरूलाई निकै सहयोग पुगेको थियो । उनलाई लाग्थ्यो, सधैं राहत पाइरहुँ । यसपालि कसैले हात फैलाइदेला भन्ने आसैआसमा बसेको डेढ महिना बित्नै लाग्यो । भएको अलिकति चामल र गोजी रित्तिन लागेको छ । छोरीलाई छिनछिनमा फेर्न डाइपर, आफूलाई हड्डी खिइएको, सुगरको औषधि कसरी जोहो गर्ने पिरलो छ ।

सानुछोरीको परिवार जस्तै अपांगता भएका, अशक्त, असहाय, सीमान्तकृत, विपन्न र दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवार यतिबेला भोक महामारीको चपेटामा छन् । केन्द्रीय तथ्यांक विभागले २०७० असारमा जारी गरेको ‘नेपालमा गरिबीको लघुक्षेत्र अनुमान २०६८’ का अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै करिब दुई लाख गरिब छन् । यिनले दैनिक आवश्यक पर्ने न्यूनतम पोषण (क्यालोरी) बाट समेत वञ्चित हुनुपर्छ । डा. विश्वनाथ कोइरालाका अनुसार एकजना मानिसका लागि दैनिक न्यूनतम १२ सयदेखि २४ सय क्यालोरी आवश्यक पर्छ । तर सहरका गरिबले त्यति क्यालोरी पनि पाएका छैनन् ।

‘देशकै राजधानी भनेर के गर्नु यो तथ्यांकमा पर्ने सानुछोरीजस्ता अपांगता भएका परिवारलाई जहिल्यै खानकै समस्या हुन्छ,’ बौद्धिक अपांगताका अभिभावक महासंघ, नेपालका अध्यक्ष राजु बस्नेत भन्छन्, ‘ज्यालादारी गरेर परिवार पाल्दै आएका अभिभावकहरूलाई महामारीले घरभित्रै थुनेको छ, अपांगता भएका बालबच्चालाई पोषणयुक्त खाना खुवाउन सकिरहेका छैनन्, यसले गर्दा उनीहरूको स्वास्थ्य समस्या झन् जटिल बन्दै छ ।’

महासंघले गरेको सर्वेक्षणमा गत वर्षको लकडाउनमा ४०.०८ प्रतिशत अपांगता भएका व्यक्ति र उनका परिवारले आयस्रोत गुमाएको उल्लेख छ । महासंघले ७१ जिल्लाका ४ सय २२ अपांगता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १ सय १ अपांगता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग फोनसम्पर्क गरी उक्त सर्वेक्षण गरेको थियो ।

२०६८ को जनगणनाअनुसार देशभर बौद्धिक अपांगता, शारीरिक अपांगता, बहिरा, दृष्टिविहीन, बहिरोपन, स्वर/बोलाइसम्बन्धी अपांगता, मनोसमाजिक अपांगता, अटिजम, हेमोफोलिया, बहुअपांगता लगायत अपांगता भएका मानिसको संख्या ५ लाख १३ हजार ३ सय २१ छ । यो संख्या काठमाडौं उपत्यकामा मात्रै १४ हजार ८ सय ८८ छ ।

प्रकाशित : असार ३, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?