सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा ७ जना बेपत्ता भएका छन् भने एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले मंगलबारदेखि बेपत्ता भएकाहरु फेला नपरेको बताएका छन् । उनका अनुसार एउटा शव फेला परे पनि त्यसको सनाखत भने हुन सकेको छैन ।
डीएसपी सापकोटाका अनुसार बेपत्ता भएकाहरु सबै मेलम्ची ट्राउट फर्ममा कार्यरतहरु हुन् । बाढीमा हराउनेमा हेलम्बु-२ का माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् । बुधबार बिहान भने सिन्धुपाल्चोक प्रहरीले ७ जनाको शव भेटिएको र छजनाको सनाखत भएको बताएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत डिएसपी सापकोटाले शव भेटिएको बताएका थिए ।
जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए ।
हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।
*सच्याइएको : यसअघि प्रकाशित समाचारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारीले ७ जनाको शव फेला परेको र ६ जनाको सनाखत भएको दाबी गरे पनि हाल एकजनाको मात्रै शव फेला परेको पुष्टि गरेकोले उक्त समाचार सच्याइएको छ। यसबाट पाठकहरुलाई पर्न गएको असुविधा र भावनात्मक चोटप्रति हामी क्षमाप्रार्थी छौं ।
सम्बन्धित समाचार
