२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उपत्यकामा सामान्य वार्डमा भर्ना हुने संक्रमितको संख्या घट्यो, आईसीयूमा चाप उस्तै

बाहिरी जिल्लाबाट रिफर भएर आउने संक्रमित बढे
बुनु थारु

काठमाडौँ — उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गएपछि अस्पतालमा पनि चाप कम हुँदै गएको छ । कुनैबेला बेड अभावमा अस्पताल परिसरमै बिरामी राखेर उपचार गर्न बाध्य अस्पतालहरुको अवस्था अहिले फरक भएको छ ।

उपत्यकामा सामान्य वार्डमा भर्ना हुने संक्रमितको संख्या घट्यो, आईसीयूमा चाप उस्तै

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले १ हप्ता यता कोभिड बिरामीको संख्या कम हुँदै गएको बताए । ‘बिरामीको संख्या केही घटेको भने हो,’ उनले भने, ‘आँगनमा राखेर उपचार गर्ने बाध्यता कम भएको छ । यसका साथै पीसीआर गराउन आउनेको संख्यामा पनि उल्लेखनीय रुपमा कमी आएको छ । हाललाई बेड पुगेको छ ।’

डा. राजभण्डारीका अनुसार सामान्य वार्डमा बसेर उपचार गराउने बिरामीकोे संख्यामा कमी आएपनि आईसीयु तथा भेन्टिलेटरमा उपचार गराउनेको चाप उस्तै रहेको छ । ‘अहिले पनि हामीकहाँ आईसीयू फूल नै छ । बाहिरी जिल्लाबाट रिफर भएर आउने सिकिस्त बिरामी भने बढेका छन्,’ डा. राजभण्डारीले भने ।

उनका अनुसार हाल अस्पतालमा काठमाडौं उपत्यकाका बिरामीहरु कमै मात्र आएका छन् । ‘अहिलेको अवस्था हेर्दा काठमाडौं उपत्यकामा संक्रमणको दर घटेको देखिन्छ,’ उनले भने, ‘यहाँ संक्रमण नियन्त्रण भएको देखिन्छ । उपत्यका बाहिरका समुदायमा संक्रमण बढिसक्यो । त्यसैले उताबाट धेरै बिरामी रिफर भएर आएका छन् ।’

धादिङ, सर्लाही ,सिन्धुली, नवलपरासी, उदयपुर, रसुवा, खोटाङ, दाङ, काभे्र लगायतका स्थानहरुबाट गम्भिर प्रकृतिका बिरामीहरु भने आइरहेको डा. राजभण्डारीले बताए । उनले परीक्षण नै नगरी होमआइसोलेसनमा बसेका बिरामीहरु पनि उपचारका लागि आएको बताउँदै गाउँमै आरडिटी गर्ने र सिकिस्त भएपछि उपचारका लागि काठमाडांै आउने गरेको दाबी गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेबसाइटमा राखेको तथ्यांक अनुसार काठामाडौं उपत्याकामा विगत जेठ १३ गते यता संक्रमित हुनेको संख्या १९ हजार ९ सय ९७ रहेको छ । जबकी वैशाख २९ देखि जेठ १२ गतेसम्म मात्रै उपत्यकामा कुल ४२ हजार ३ सय ८ जना संक्रमित फेला परेको जानकारी साइटमा उपलब्ध छ । काठमाडौं उपत्यकासँग सीमा जोडिएका जिल्लाहरुमा पनि विगत केही समय यता संक्रमितको संख्या घटेको देखिएपनि परीक्षण निकै कम हुनुका साथै त्यहाँ समुदायमा नै संक्रमण फैलिएको अनुमान विज्ञहरुले गरेका छन् ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका फोकल पर्सन डा. प्रविन नेपालले पनि हालको अवस्था हेर्दा रामेछाप, रोल्पा, रुकुम, मकवानपुर, दोलखा लगायतका जिल्लाहरुबाट बिरामीहरु रिफर भएर आइरहेका छन् । ‘हामीले अहिलेसम्म उच्च संख्यामा राखेको बिरामीको संख्या २०० हो । १३० को हाराहारीमा बिरामी अहिले भर्ना रहेका छन्,’ उनले भने, ‘एक हप्ता यता बिरामीको संख्या कम हुँदै गएको छ ।’ उनले पहिलेको तुलनामा ननकोभिडका बिरामी पनि उपचारका लागि आउने संख्या बढिरहेको बताएपनि आईसीयू तथा भेन्टिलेटरमा बिरामीको चाप रहेको बताए ।

वैशाख महिनामा नेपालमा कोरोना संक्रमणको दोस्रो लहर उच्चतम विन्दुमा पुगेको समयमा २०० जनासम्म संक्रमित भर्ना गरेर उपचार गरेको वीर अस्पतालका फोकल पर्सन डा. अच्युत कार्की दाबी गरे । उनका अनुसार अहिले एक साता यता वीरमा औसतमा१२० जना बिरामीमात्रै भर्ना भएर उपचार सेवा लिइरहेका छन् । ‘समुदायमा अझै धेरै परीक्षण बढाएर लाने हो भने संख्यामा कमी आउने देखिन्छ,’ उनले भने, ‘आईसीयू र एचडीयूमा बिरामीहरु नघटेपनि अक्सिजन चाहिने बिरामी भने घटेको छ ।’

त्रिवि शिक्षण अस्पतालका फोकल पर्सन राम विक्रम अधिकारीले केही समय पहिला कोभिड इमरजेन्सीमा दैनिक ३० देखि ४० जनासम्म बिरामी आउँदा बाहिर उपचार गर्नुपर्ने अवस्था अहिले हटेको छ । ‘संक्रमा पिकमा पुगेको बेला जनरल बेडमापनि कोरोनाका बिरामी राखेर उपचार गरेका थियौँ । ४०० भन्दा बढी बिरामीहरु उपचार भएकोमा आजको तथ्यांक हेर्दा १६२ जना उपचाररत रहेका छन्,’ उनले भने, ‘आईसीयूमा भने बिरामी छन् ।’ उनका अनुसार अस्पतालमा म्यूक्रो माइक्रोसिसका ६ जना उपचार गराएकोेमा एक जनाको मृत्यु समेत भएको छ ।

निजीमा पनि बिरामीको संख्या घट्दै
ठूलो सरकारी अस्पतालमा मात्रै नभएर कोभिड बिरामी उपचार गर्ने निजी अस्पतालहरुमा पनि बिरामीको चाप कम हुँदै गएको छ । तर, निजी अस्पतालका सघन उपचार कक्ष तथा भेन्टिलेटरमा उपचाररत बिरामीको संख्यामा भने कमि आएको छैन ।

नेपाल मेडिसिटी अस्पतालका सुपरिटेन्डेन्ट डा. राज रानाले विगत १५ दिनको तुलनामा अहिले आएर १० देखि १५ प्रतिशतसम्म बिरामीको संख्यामा कमी आएको बताए । ‘सिकिस्त बिरामीको संख्या आईसीयूमा उस्तै रहेपनि अरु सामान्य वार्डमा भर्ना हुने बिरामीमा कमी आएको छ,’ उनले भने । उनका अनुसार जनकपुर, भैरहवा लगायत जिल्लाबाट सिकिस्त बिरामीहरु एम्बुलेन्स तथा हेलिकप्टरबाट उपचारका लागि अस्पताल आइरहेको बताए ।

ह्याम्स अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार पनि साता–दश दिनको अवस्था हेर्दा फिभर क्लिनीक, वार्ड तथा इमरजेन्सीमा आउने बिरामी संख्या घटिरहेको छ । तर उनले पनि आईसीयू चाहिने बिरामीको संख्यामा भने खासै कमी नआएको बताए । डा. ज्योतिन्द्रले संक्रमण पिकमा पुगेको बेलामा व्यवस्थापन मिलाउन एकदम गाह्रो भएको बताउँदै हाल भने अस्पताल आउने बिरामीको चाप धान्नका लागि समस्या नरहेको जानकारी दिए । ९० जनासम्म भर्ना गरेर उपचार गरेको यस अस्पतालमा बिहीबार भने ४० जना कोरोना संक्रमित उपचाररत छन् ।

संक्रमण उच्चतम विन्दुमा पुगेको समयमा ६० जना बढी कोरोना संक्रमित भर्ना गरेर उपचार गर्ने स्टार अस्पतालमा हाल सरदर २५ देखि ३० जनाको बिरामीहरु उपचाररत छन् । अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले पोजिटिभिटी रेट घट्दै गएकोले बिरामीको संख्या अस्पतालमा घट्दै गइरहेको सुनाए । ‘हाम्रोमा मात्र होइन होला अरुको पनि संख्या घट्दै गएको हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २७, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?