रौतहट — रौतहटमा जेठ २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जेठ २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई थप गर्ने निर्णय गरेको हो ।
यसअघि जेठ १९ गते राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रजिअ यादवका अनुसार कोरोना महामारीको श्रृंखला रोक्न उपयोगी देखिएकाले हाल जारी निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी भएकोमा पटक/पटक गरी त्यसैलाई निरन्तरता दिइदै आएको छ । स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ ।
यसैबीच जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ । बिहीबारसम्म संक्रमितको संख्या बढेर १ हजार १ सय ३६ पुगेको छ । सबैभन्दा धेरै संक्रमित चन्द्रपुर नगरपालिकामा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ३ सय ४७ जना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ७ सय २३ जना होम आइसोलेसनमा छन् ।
