कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरोसेल खोप ६०-६४ वर्षकालाई

चीनले दोस्रो पटक दिने वाचा गरेको १० लाख मात्रामध्ये ९ लाख ८ सय मात्रा खोप आइपुग्यो
अतुल मिश्र

काठमाडौँ — चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ । जेठ २५ देखि यो खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरेको हो । 

भेरोसेल खोप ६०-६४ वर्षकालाई

चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो ।

परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत बिहीबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए । यसअघि चीनले अनुदानमै उपलब्ध गराएको ८ लाख डोज १८ देखि ५९ वर्ष उमेर समूहलाई लगाइसकिएको छ ।

‘विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथिका जुनसुकै उमेरमा प्रयोग गर्न सकिने बताए पनि हामीले यो खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई दिने भएका हौं,’ स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने । देशभर करिब साढे ८ लाख जना ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक रहेको मन्त्रालयको अनुमान छ । उक्त उमेर समूहका करिब ८० प्रतिशतलाई यो खोपले समेट्ने मन्त्रालय स्रोतको भनाइ छ । करिब १४ हिमाली जिल्लामा ५५ वर्ष माथिकाहरूले यसअघि नै कोभिसिल्ड खोप लगाइसकेका छन् ।

डा. पोखरेलका अनुसार करिब २ लाख ९० हजार जनालाई एक मात्रा भेरोसेल खोप दिइए पनि ९७ प्रतिशतले मात्र दोस्रो मात्रा लगाएका छन् । ‘पहिलो मात्रा लिइसकेकामध्ये करिब तीन–चार हजार जना दोस्रो मात्रा लिन छुटेका छन्,’ उनले भने । कोभिसिल्ड र भेरोसेलका दुवै मात्रा लगाउनेको संख्या ७ लाख १४ हजार १ सय ६३ जना पुगेको छ भने २१ लाख १३ हजार ८० जनाले पहिलो मात्रा लगाएका छन् ।

अनुदानअन्तर्गत सबैभन्दा बढी मात्रामा चीनबाट भेरोसेल प्राप्त भएको छ । अनुदानस्वरूप प्राप्त भेरोसेलले करिब ३ प्रतिशत जनसंख्यालाई दुवै मात्रा लगाउन पुग्ने डा. पोखरेलले बताए । यसअघि अनुदानअन्तर्गत नै भारतबाट कोभिसिल्ड १० लाख मात्रा र भारतीय सेनाबाट नेपाली सेनालाई एक लाख गरी ११ लाख मात्रा आएको थियो । कोभ्याक्स सुविधामार्फत पनि ३ लाख ४८ हजार कोभिसिल्ड अनुदानमा आएको छ ।

कस्तो हो भेरोसेल खोप ?

यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गते आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको थियो । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने यो खोपको म्याद दुई वर्षको छ । कोभिसिल्डको भने ६ महिनाको रहेको छ ।

पुरानो प्रविधिमा आधारित भेरोसेलमा मृत कोरोनाको कोषिका उपयोग गरिएको छ । निष्क्रिय भाइरसको कणले निर्मित खोप भएकाले यसमा रोग उत्पन्न गर्ने क्षमता नहुने डा. पोखरेलले बताए । ‘यो खोपको प्रभावकारिता ७९.३४ प्रतिशत छ,’ उनले भने, ‘०.५ मिलिलिटरको मात्रा दुई पटक लगाउनुपर्ने हुन्छ ।’ पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा लगाउन प्रस्तावित गरिएको छ । यसअघि आएको ८ लाख मात्रा भेरोसेल भाइलबाट सिरिन्जमा तानेर व्यक्तिमा लगाइन्थ्यो । उक्त खोपको भाइल र सिरिन्ज छुट्टाछुट्टै हुन्थ्यो । ‘अहिले आएकोमा भने पहिले नै सिरिन्जमा एक मात्रा हालिएको (प्रिलोडेड) छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १९, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?