कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाले दुई दिनमा परिवारका तीनको मृत्यु

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमणका कारण ३६ घण्टाको अन्तरालमा विराटनगर–१ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ८१ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृत्यु भएको हो । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् । 

कोरोनाले दुई दिनमा परिवारका तीनको मृत्यु

उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि कोभिड अस्पताल भर्ना गरिएको थियो । वडाध्यक्ष उद्धव अर्यालका अनुसार गत शुक्रबार बुबा विदुरको निधन भयो । आफू पनि संक्रमित भएर अस्पताल भर्ना भएका कारण दिवसले दागबत्ती दिन पनि पाएनन् ।

नेपाली सेनासहित आफन्तको सहभागितामा विदुरको अन्त्येष्टि गरेर मलामी घर आइपुगेको केही समयपछि शनिबार साँझ दिवसकी हजुरआमा नारायणीदेवीको निधन भएको खबर अस्पतालबाट आयो । त्यसको ५ घण्टापछि आमा इन्दिराको निधन भएको हो । दिवसका आफन्त अरुण न्यौपानेले भने ‘साँझ झपक्क भएकाले फुपू दिदी (नारायणी) को शनिबार साँझ अन्त्येष्टि गर्न सकिएन । राति १ बजे दिवसकी आमा ५६ वर्षीया इन्दिराको पनि निधनको खबर आयो ।’

सासू–बुहारी दुवैको अन्त्येष्टि आइतबार बिहान एकसाथ गरिएको न्यौपानेले बताए । विदुरलाई उनका भाइ विक्रमले दागबत्ती दिएको चौबीस घण्टा नबित्दै उनले आमा र भाउजूलाई पनि दागबत्ती दिनुपर्‍यो । उनका अनुसार अहिले दिवसको स्वास्थ्यमा सुधार भइरहेको छ । उनकी पत्नी र बालबच्चालाई इटहरीस्थित ससुरालीमा राखिएको छ ।

विराटनगरको महालक्ष्मी ज्वेलर्सका सञ्चालक विमल वेगवानीले पनि कोरोना संक्रमणको दोस्रो लहरमा चौबीस घण्टाको अवधिमा पत्नी र छोरा गुमाए । उनकी ६१ वर्षीया पत्नी नीलमदेवीको वैशाख २९ मा निधन भयो । भोलिपल्ट ४३ वर्षीय छोरा दिलीपको पनि संक्रमणकै कारण ज्यान गएको थियो ।

विराटनगर–२ तीनपैनीका गौरव र सौरभ निरौलाले पनि यसपालिको संक्रमणमा १० दिनको फरकमा आमाबुबा दुवै गुमाए । बुबा गोविन्द निरौला बितेको १० औं दिनमा आमा मीनाको पनि कोरोनाकै कारण मृत्यु भएको वडाध्यक्ष कुमार पोखरेलले बताए । मोरङको बेलबारी–९ डाँगीहाटमा कोरोना संक्रमित आमाछोरीको चौबीस घण्टाको फरकमा मृत्यु भएको छ । स्थानीय सुजय गौतमका अनुसार अघिल्लो दिन छोरी संगीताको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट आमा रीता दर्जीको मृत्यु भयो । उनका अनुसार रीताका पतिको पनि गत वर्ष कोरोनाकै कारण मृत्यु भएको थियो ।

पथरी शनिश्चरेमा दुई परिवारले दुवैजना अभिभावक गुमाएका छन् । नगर स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार वडा–१ का एनबी सुब्बा र उनकी पत्नी धनमायाको चौबीस घण्टाको बीचमा संक्रमणका कारण मृत्यु भएको छ । वडा–४ का दिनेश गजमेरको मृत्यु भएको ६ दिनपछि उनका पिता गणेशको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

उर्लाबारी गाविस छँदा उपाध्यक्ष रहेका कुमार धिमाल र उनका छोरा तेजबहादुरले पनि कोरोना संक्रमणकै कारण साताअघि ज्यान गुमाएको नगर प्रमुख खड्ग फागोले बताए । कुमारको निधन भएको पाँच दिनपछि छोरा तेजबहादुरको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?