रुकुम पश्चिम — जिल्ला अस्पताल रुकुम पश्चिममा जडान गर्न खरिद गरिएको अक्सिजन प्लान्टबारे छानबिन सुरु भएको छ । दुई महिनाअघि जिल्ला अस्पतालमा प्लान्ट जडानका लागि मेसिन ल्याइएको थियो ।
स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट जडानलाई पूर्णता दिन पाइपलाइन र ट्यांकी खरिदको प्रक्रिया अघि बढाए पनि कर्णाली प्रदेशको संसदीय समितिले काम नगर्न निर्देशन दिएको हो ।
पाइपलाइनको काम नहुँदा मेसिन अस्पतालको ग्यारेजमा थन्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्लान्ट जडानका सबै कागजात मागेको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए ।
उनका अनुसार प्लान्टको मुख्य मेसिन खरिदको जिम्मा लिएको कम्पनीले जेठ १६ भित्रै प्लान्ट जडान गरिसक्ने बताएको थियो । तर अब त्यो सम्भव नभएको उनको भनाइ छ । ‘अख्तियारले फाइल मगाएको छ, संसदीय समितिले पनि काम अघि नबढाउन निर्देशन दियो,’ उनले भने, ‘छानबिन प्रक्रिया सुरु भएपछि केही समयका लागि काम स्थगित गरेका छौं ।’
कार्यालयले गत आइतबार पाइपलाइन र ट्यांकी खरिदका लागि सूचना निकालेको थियो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि ४० लाख रुपैयाँ बजेट पठाएको थियो । मेसिन खरिदको जिम्मा काठमाडौको विभूति मेडिटेक इन्टरनेसनल प्रालिलाई दिइएको थियो । कम्पनीले ३९ लाख २२ हजार रुपैयाँमा मेसिन खरिद गरिएको जनाएको छ । मेसिनबाट प्रतिमिनेट ४० एलपीएम अक्सिजन उत्पादन गर्ने कम्पनीको दाबी छ ।
मुख्य मेसिन दुई महिनाअघि नै ल्याए पनि अरू सामग्री अभावमा प्लान्ट सञ्चालनमा ढिलाइ भएको हो । मेसिन खरिद गरेको कम्पनीलाई भुक्तानी अझै नदिएको निमित्त स्वास्थ्य व्यवस्थापक बुढाथोकीले बताए । उनले भने ‘छानबिनमा तानिएपछि अरू काम पनि रोकिएका छन् ।’
