बारपाकमा साढे १३ सयको कोरोना परीक्षण

जेष्ठ १७, २०७८

हरिराम उप्रेती

गोरखा — पछिल्लो तीन दिनमा बारपाक सुलीकोट गाउँपालिका–१ र २ स्थित बारपाकका १३ सय ५५ स्थानीयको कोरोना परीक्षण गरिएको छ । ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गएिकोमा ८३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पीसीआर परीक्षणका लागि ३ सय ९२ जनाको स्वाबको नमुना लिई पोखरा पठाइएको छ ।

कोरोना परीक्षणका लागि बारपाक पुगेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली आइतबार फर्किएको छ । घना बस्ती रहेको बारपाकका एक सातामा १० जनाको मत्यु र रुघाखोकीले सयौं बिरामी परेपछि कोरोना फैलिएको आशंकामा परीक्षणका लागि पालिकाले स्वास्थ्यकर्मीको टोली बोलाएको थियो । यसअघि कोरोना परीक्षण गर्न आनाकानी गरिरहेका स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधि गाउँ पुगेर सम्झाइबुझाई गरेपछि राजी भएका थिए ।

करिब ११ सय घरधुरी रहेको बारपाकमा दुई साताअघि नै माहामारी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । परीक्षण गराउन आएका अधिकाशंको भनाइबाट दुई साताअघि नै उनीहरूमा स्वास्थ्य समस्या रहेको पाइएको स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरेका संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका डा. सन्तोष बाँस्तोलाले बताए । ‘१५ दिनअघि खाना रुच्थेन, रुघाखोकी थियो भन्नेहरू धेरै भेट्यौं,’ उनले भने, ‘परीक्षणका क्रममा केहीको पोजिटिभ रिपोर्ट पनि आयो, यहाँको स्वास्थ्य समस्या कोभिड नै हो भन्नेमा नजिक पुग्यौं ।’

स्थानीयमा बिरामी परेर पनि जाँच गराउन नजाने प्रवृत्ति चुनौतीका रूपमा देखिएको उनले बताए । ‘केहीको स्वाब संकलन गरेका छौं, पीसीआर रिपोर्ट पोजिटिभ आए पनि आत्तिहाल्नुपर्ने अवस्था छैन, लक्षण देखिएर जटिल अवस्थाका बिरामीलाई रेफर गरिसकेका छौं,’ उनले भने, ‘होम आइसोलेसनमा बसेकाहरूको स्वास्थ्य अवस्थाबारे फलोअप गरिरहन स्थानीय स्वास्थ्यकर्मीलाई भनेका छौं ।’

बिरामीको प्रकृतिअनुसार औषधि वितरण र स्वास्थ्य परीक्षण पनि भएको उनले बताए । शनिबार दुई कोरोना संक्रमित र एक अक्सिजन लेबल कम भएकी महिलालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाइएको छ । स्वास्थ्य अवस्था जटिल बनेकी २४ वर्षीया युवतीलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । धामीझाँक्रीको विश्वास गर्ने परम्परालाई चिर्न चेतनामूलक कार्यक्रमको खाँचो रहेको दानीले बताए ।

बारपाकमा अवस्था जटिल बनेपछि गाउँपालिकाले स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जनाएको छ । अवस्था सामान्य नहुँदासम्म गाउँमै एक हेल्थ असिन्टेन्ट र एक अनमीको व्यवस्थापन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । यसै महिनाको सुरुवातमा भएको परीक्षणमा यहाँका ६३ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully