कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गाउँभरि संक्रमण, भएन ट्रेसिङ र परीक्षण

१४ दिनमा १६ जनाको मृत्यु, किट अभावले परीक्षणमा ढिलाइ 
आइसोलेसन जानै मान्दैनन् संक्रमित, निर्बाध गाउँमा डुल्दा थप फैलिने जोखिम
भूषण यादव

वीरगन्ज — घरैपिच्छे ज्वरो फैलिएको र पछिल्ला १० दिनमा ११ जनाको मृत्यु भएपछि वैशाख २८ मा जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटीमा कोरोना परीक्षण गर्‍यो ।

गाउँभरि संक्रमण, भएन ट्रेसिङ र परीक्षण

११ जनाको एन्टिजेन परीक्षणमा ७ जनामा र २५ जनाको स्वाब परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भयो । त्यही दिन चिलझपटीका दुईवटा टोलमा स्वास्थ्यकर्मीले गरेको लगत संकलनमा १ सय ७३ जनामा ज्वरो आएको पाइएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखाले वैशाख २७ मा प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्र लेखी विज्ञ टोली पठाइदिन अनुरोध गरेपछि मात्रै जिल्लाबाट टोली गएको हो । ‘गाउँमा कोरोना फैलिएको पुष्टि भइसक्यो,’ स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साह भन्छन्, ‘तर नियन्त्रण र रोकथामका लागि कुनै पहल भएको छैन ।’

गाउँपालिकामा वैशाख २० यता १६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ७ जनामा कोरोना पुष्टि भएको थियो । अन्यको परीक्षण नगरिए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको पाइएको साहले बताए । उनका अनुसार मृत्यु भएकामध्ये ९ जना चिलझपटीका बासिन्दा हुन् । मंगलबार थपिएका २४ संक्रमितको कन्ट्याक्ट ट्रेसिङसमेत गरिएको छैन ।

‘गाउँपालिकामा एन्टिजेन र भीटीएम किट छैन,’ साह भन्छन्, ‘हाम्रो हातमा खाता सञ्चालन गर्ने अधिकार पनि छैन, न त पैसा नै छ, कसरी खरिद गर्नु ?’ माथिल्लो निकायमा किट माग गरे पनि प्राप्त नभएको उनले बताए । ‘व्यवस्थापन गर्छौं भन्छन्,’ उनले भने, ‘तर कहिले गर्ने हो थाहा छैन । संक्रमितहरू गाउँमै डुलिरहेका छन् ।’

गाउँपालिकाले वीरगन्जको होटल शाह दरबारमा २५ बेडको आइसोलेसन बनाएको छ । तर गाउँबाट करिब २५ किलोमिटर टाढा रहेको उक्त आइसोलेसनमा कोही संक्रमित पनि आउन मानेका छैनन् । ‘होटलको आइसोलेसन खाली छ,’ उनले भने, ‘संक्रमित गाउँमै छन्, आउन मान्दैनन् ।’ गत मंगलबार मध्याह्न स्वास्थ्यकर्मीको टोली चिलझपटी पुग्दा अधिकांश स्थानीयले घरको ढोका भित्रबाट बन्द गरेका थिए । कतिपयलाई टाइफाइडको उपचार चल्दै थियो । वीरगन्जको आइसोलेसनमा राख्छन् भनेर कतिपय शंकास्पद खेततर्फ भागेका थिए ।

स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर भने कोभिड नियन्त्रणका लागि प्रत्येक गाउँपालिकालाई १० लाख रुपैयाँ विनियोजन गरेको बताउँछन् । ‘गाउँपालिकाले विनियोजित बजेटबाटै आवश्यक किट खरिद गरी आफ्नै स्वास्थ्यकर्मीमार्फत संक्रमण फैलिएको ठाउँमा परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘जगरनाथपुरमा त्यो बजेटले के गरिरहेका छन्, थाहा भएन ।’ महामारीमा अपुग बजेटसमेत पछि शोधभर्ना गरिने सरकारले जनाएको उनले बताए ।

जगरनाथपुर–३ जमुनियाका श्रीकान्त यादव घरघरमा ज्वरोका बिरामी हुँदा अवस्था चिन्ताजनक बनेको बताउँछन् । संक्रमण फैलिएको पुष्टिपछि गाउँपालिका स्तरबाट परीक्षण र रोकथामका लागि कुनै पहल नभएको उनले गुनासो गरे । ‘गाउँपालिकाले न परीक्षण गर्ने किट खरिद गर्न सकेको छ, न त औषधि नै वितरण गरेको छ,’ उनले भने, ‘गाउँमा अवस्था झन् भयावह बन्दै गएको छ ।’ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्दीप पटेलका अनुसार स्वास्थ्य कार्यालयले आइतबारसम्ममा २५ वटा भीटीएम दिने आश्वासन दिएको थियो । ‘तर अन्तिममा नदिने जनायो,’ पटेलले भने, ‘अहिले गाउँपालिका आफैंले खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ । २/३ दिनभित्रै किट खरिद गरी परीक्षण थालिनेछ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे किट अभावकै कारण जगरनाथपुरमा थप परीक्षण गर्न नसकिएको स्विकार्छन् । सिकिस्त संक्रमितलाई एम्बुलेन्समा वीरगन्ज ल्याउन निर्देशन दिएको उनले जनाए । ‘माइल्ड लक्षणयुक्त संक्रमितले कोरोना सार्दैनन्,’ उनले भने, ‘गाउँमा आवतजावत रोक्न प्रहरीलाई निर्देशन दिएको छु ।’

प्रकाशित : जेष्ठ ३, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?