कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जो आफ्नो संक्रमण बिर्सेर अरूलाई बचाइरहेछन्

‘शरीर थकित हुन्छ तर बिरामी बचाउन मन ऊर्जावान बनाएर काम गरिरहेका छौं ।’

नेपालगन्ज, बुटवल — नेपालगन्ज शिक्षण अस्पतालका डा. पुरुषोत्तम बर्मा संक्रमितको उपचारमा खटिँदै गर्दा आफैं बिरामी भए । कोभिडको पूरै लक्षण देखिए पनि पीसीआर जाँच गराउँदा रिपोर्ट भने नेगेटिभ आयो । रिपोर्ट पोजिटिभ आएको भए उनी आइसोलेसनमा बस्थे । लक्षण सबै देखिए पनि रिपोर्ट नेगेटिभ आउँदा आराम गरेर बस्छु भन्न पाएनन् ।

जो आफ्नो संक्रमण बिर्सेर अरूलाई बचाइरहेछन्

‘कोभिडको पूरै लक्षण खेप्नुपर्‍यो तर रिपोर्ट दुईपटकसम्म नेगेटिभ आयो,’ उनले भने, ‘कहिलेकाहीं फल्ट हुन्छ । मैले बिदा भने लिइनँ ।’ बिरामीको उपचार गर्दागर्दै उनलाई अहिले त्यस्तो लक्षण छैन । दैनिक १२ घण्टा ड्युटीमा खटिएका डा. बर्माले भने, ‘शरीर थकित हुन्छ तर बिरामी बचाउन मन ऊर्जावान बनाएर काम गरिरहेका छौं ।’

धेरै बिरामी, सीमित जनशक्ति भएका बाँकेका अस्पतालमा बर्माजस्ता स्वास्थ्यकर्मीले आफ्नो सुविधा बिर्सेर संक्रमितको उपचार गरिरहेका छन् । भेरी अस्पतालकी स्टाफ नर्स कमला नेपाली आफैं कोरोना संक्रमित भएको २२ दिन पुग्यो । तैपनि बिदामा बसेकी छैनन् । संक्रमितकै उपचारमा नियमित खटिएकी छन् । अस्पतालमा बिरामीको चाप घटेको छैन । अक्सिजन अभावमा दिनदिनै ज्यान गुमाउने बिरामी देखेर उनलाई मन थाम्न निकै गाह्रो हुन्छ ।

‘म त निको भएँ, अरूलाई बचाउन नसक्दा खिन्न छु,’ उनले भनिन् । ड्युटी गर्दागर्दै उनलाई संक्रमणले भेटेको थियो । सुरुसुरुका दिनजस्तो बान्ता आउने, पेट दुख्ने, टाउको दुख्नेजस्ता लक्षण अहिले छैन । त्यसैले ड्युटी गर्न केही सहज महसुस छ । कोरोनासँग जुध्न सकारात्मक सोच र कामको व्यस्तताले ठूलो भूमिका खेल्ने उनको अनुभव छ । अस्पतालको व्यस्तताले उनलाई कोरोनाको डर र बिरामीका पीडाबारे फुर्सदिलो भएर चिन्ता गर्ने समयसमेत मिल्दैन । भन्छिन्, ‘मनोबल जुटाएर काम गर्न सकेकी छु ।’ नेपालीसँगै नर्स सुनीता सहाकारी संक्रमित भएकी थिइन् । एकै दिन पीसीआर गराएका उनीहरूले एक दिन पनि बिदा लिएनन् । अस्पतालले संक्रमित कर्मचारीलाई १० दिनसम्म आइसोलेट हुने सुविधा दिएको छ । एक त जनशक्तिको अभाव, अर्को आफैं संक्रमित भए पनि बिरामीको उपचार गर्न सक्छु भन्ने हिम्मतले काममा खटिए । बिरामीको अवस्था नाजुक देख्दा बेला बेला खिन्न हुन्छन् । बेडको अभावमा बिरामीले भर्ना पाउन हानथाप गर्नुपरेको छ । मृत्युदर घटेको छैन । अक्सिजन अभावले ज्यान गएको दृश्यले बर्मा, नेपाली र सहाकारीका आँखा रसाउँछन् ।

कोहलपुरको नेपालगन्ज शिक्षण अस्पतालकी आईसीयू इन्चार्ज हुन्, सपना थापा । उनी पनि ड्युटीमै संक्रमित भइन् । तीन दिनसम्म ज्वरो आयो । उनले भने घरमै बसेर डाक्टरसँग परामर्श गर्दै उपचार गरिन् । गएको वर्ष परिवारका सबै संक्रमित हुँदा उनी जोगिएकी थिइन । यस वर्ष उनी पनि अछूतो रहन सकिनन् । कोभिड निको भएको दुई साता नपुग्दै उनी अस्पतालमा हाजिर भइन् । ‘कोभिडको बिरामी निको हुँदैमा फूर्तिलो हुँदैन । शरीर कमजोर हुन्छ । निद्रा लागिरहन्छ,’ उनले भनिन् । आफ्ना शारीरिक समस्या लुकाएर बिरामीको सेवामा लागेको उनले बताइन् । आफ्नै घर वरिपरि चिनेजानेका मान्छे बिरामी भएको, मृत्यु भएको देख्दा उनलाई नरमाइलो लाग्छ । ‘बिरामी हेर्दाहेर्दै रिंगटा लाग्छ,’ उनले भनिन्, ‘सुत्न मन लाग्छ, अरू साथीहरू संक्रमित छन् । उनीहरूलाई पालो दिनुपर्छ ।’

कोभिड अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भए पनि बिरामीलाई अभाव महसुस हुन दिएका छैनन् । कतिपय संक्रमित हुँदाहुँदै सेवामा खटिएका छन् भने अधिकांश आइसोलेसनमा बसेको १० दिनमै अस्पताल ड्युटीमा आएका छन् । एक त जनशक्तिको अभाव, त्यसमा पनि कोभिड संक्रमित हुँदा बिरामी मर्कामा पर्ने चिन्ता हुन्छ ।

स्वास्थ्यकर्मी उदार हृदयका साथ निको हुनेबित्तिकै अस्पतालको ड्युटीमा खटिएको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. संकेत रिसालले बताए । उनका अनुसार भेरी अस्पतालको इमर्जेन्सी विभागमा ६ जना डाक्टर कार्यरत छन् । सबै नै कोरोना संक्रमित भए । आइसोलेसनको १० दिन पूरा भएलगत्तै अहिले सबै जना सेवामा फर्किएको उनले बताए । अस्पतालमा ४ सय जना कर्मचारी छन् । सुरुमा ४० जना स्वास्थ्यकर्मी संक्रमित थिए । दुई साताअघि ७० जना संक्रमित थिए । अहिले बढेर एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेको उनले बताए ।

कोरोनाको दोस्रो लहरमा कोरोना विशेष अस्पतालभन्दा अन्य विभागका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्ता केहीको अवस्था जटिल छ । केहीले ज्यान नै गुमाएका छन् । तैपनि स्वास्थ्यकर्मीहरू उपचार सेवामा खटिएका छन् । त्यसमध्येका हुन्, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्ष प्रमुख डा. रामप्रसाद अर्याल ।

रात–दिन बिरामीको उपचारमा खट्ने उनी एक सातादेखि कोरोना संक्रमित भएका छन् । उनीजस्तै अस्पतालको आकस्मिक कक्षका १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । आकस्मिक कक्षमा दिनको दुई/तीन जनाका दरले स्वास्थ्यकर्मी संक्रमित भइरहेको आकस्मिक कक्षका निमिक्त प्रमुख डा. इन्द्रबहादुर राईले बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्ष अहिले संक्रमित बिरामीले भरिएको छ । ‘आकस्मिक कक्षमा कोचाहिँ स्वास्थ्यकर्मी संक्रमित छैन भन्ने बेला भएको छ,’ उनले भने, ‘यहाँ उपचारमा खट्नेको दिन–रातको कुनै लेखाजोखा हुँदैन । जुनसुकै समस्याका बिरामी आए पनि प्राथमिक उपचार गर्नैपर्ने हुन्छ । त्यसैले हामी बढी जोखिममा छौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालको आकिस्मक कक्षमा कोरोना संक्रमितको उपचारमा खटिँदै स्वास्थ्यकर्मीहरू । तस्बिर : अमृता अनमोल/कान्तिपुर

लुम्बिनी प्रादेशिक अस्पतालमा ७२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका अनुसार सबैभन्दा धेरै २५ जना नर्सिङ स्टाफ संक्रमित भएका छन् । चिकित्सकतर्फ पाँच जना मेडिकल अफिसर, एनेस्थेसिया र गाइनोक्लोजिस्ट दुई/दुई जना संक्रमित भएका छन् । यसबाहेक १५ जना सपोर्टिङ स्टाफ, पारामेडिक ८, प्रशासनका र गार्डसहित ८ जना संक्रमित छन् । संक्रमितमध्ये लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार भइरहेको छ ।

लक्षण नदेखिएका संक्रमितहरू भने आफ्नै घरमा बसेको कोरोना फोकल पर्सन डा. नन्दुप्रसाद पाठकले बताए । ‘सुरक्षा अपनाउँदा अपनाउँदै पनि स्वास्थ्यकर्मीहरू संक्रमित भइरहनुभएको छ,’ उनले भने, ‘जटिल खालका संक्रमित बढी आउने र आकस्मिक कक्षमा धेरै समय राख्नुपर्दा बिरामीबाट स्वास्थ्यकर्मीमा संक्रमण सर्ने क्रम बढेको छ ।’ अस्पतालमा सबै तहका गरेर कुल ६ सय स्वास्थ्यकर्मी एवं कर्मचारी कार्यरत छन् । अघिल्लोपटक होटलमा आइसोलेसन बनाएर संक्रमित स्वास्थ्यकर्मीलाई राखिएको थियो । तर स्वास्थ्य मन्त्रालयले शोधभर्ना नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरूले त्यस्तो सुविधा पाएका छैनन् । जसले थप जोखिम बढाएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।

प्रादेशिक अस्पताल मात्रै होइन, रूपन्देहीमा स्थानीय तहले आइसोलेसन सेन्टर सञ्चालन गरेका स्थानका स्वास्थ्यकर्मीहरूसमेत संक्रमित हुने क्रम बढेको छ । कोरोना संक्रमणबाहेकको उपचार हुने प्राथमिक स्वास्थ्य केन्द्र एवं स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूमा समेत कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार कोरोनाको दोस्रो लहरमा ८९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यी स्थानीय तह लेभलमा रहेका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आइसोलेसन केन्द्रका स्वास्थ्यकर्मी हुन् । उनीहरूमध्ये दुई जना स्वास्थ्यकर्मी र पाँच जना सहयोगीको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?