महामारी नियन्त्रणमा राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न महासंघको आग्रह

जेष्ठ १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण भइरहेको मानवीय क्षतिलाई रोक्न राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न आग्रह गरेको छ । 

महासंघले सरकारका तर्फबाट गरिनुपर्ने पूर्व तयारी तथा सक्रियताले सकारात्मक संकेत नदिएको जनाएको छ । राज्यको फितलो तयारीले गर्दा अस्पतालमा बेड, अक्सिजन र सहयोगी औषधि समेत पाउन नसकेको यस अवस्थाले आम नागरिकले व्यहोर्नु परेको पीडाप्रति महासंघले चिन्ता जाहेर गरेको छ । 

अध्यक्ष विपुल पोखरेलले शनिबार विज्ञप्ती जारी गर्दै आवश्यक मात्रामा अक्सिनको प्रबन्ध गर्न, अस्पतालमा बेडको संख्या थप्न, अस्थायी उपचार केन्द्रहरुको निर्माण गर्न तत्काल विशेष योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

चिकित्सा क्षेत्रले प्रस्ताव गरेजस्तै ‘रेड अलर्ट’ घोषणा गरेर भएपनि राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने महासंघले उल्लेख गरेको छ । निषेधाज्ञाका कारण खर्च हुन नसकेको बजेट तथा राज्यका सबै निकायलाई कोरोना महामारीको नियन्त्रण तथा रोकथाममा खटाउनुपर्ने महासंघले भनेको छ । राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने यस संवेदनशील घडीमा निषेधाज्ञा बाहेक कुनैपनि राहतका कार्यक्रम ल्याउन नसक्नुप्रति पोखरेलले दु:ख व्यक्त गरेका छन् । 

कोरोना विरुद्धको लडाईका ‘फ्रन्टलाइन’ का रुपमा रहेका चिकित्सा क्षेत्रको योगदान होस या सरसफाइकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक समानको उपलब्धताका लागि क्रियाशिल व्यक्ति तथा संस्था, एम्बुलेन्स चालकको भूमिकाका कारण आजसम्म सबै नागरिककमा झिनो आशा कायम रहेको विज्ञप्तीमा उल्लेख छ । यस्तो अवस्थामापनि बिरामी बोक्ने एम्बुलेन्स, हेलिकपटरले भाडावापत जथाभावी भाडा असुली गरेको, स्वास्थ्य सामग्रीमा कालोबजारी भइरहेको जस्ता कार्य खेदजनक रहेको महासंघले भनेको छ । 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully