दाङ — दाङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जेठ १५ गते बेलुका ६ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा अति आवश्यक वाहेकका सबै सेवाका साथै सरकारी कार्यालयहरु बन्द गरिएको छ । निषेधाज्ञाको अवधिमा पालोपालो गरी एक बैंकलाई सातामा दुई दिन दिउँसो ११ देखि १ बजेसम्म खुल्न दिने निर्णय भएको छ । यसैगरी निषेधाज्ञाको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि ९ बजेसम्म समय दिइएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।
अति आवश्यक सामानहरु खरिद् बिक्रीका लागि आइतबार र बुधबार बिहान ७ देखि ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाई पसलहरु खुला गर्न सकिने उनले जानकारी दिए । दूध र पानीका लागि हरेक दिन बिहान ७ देखि ८ बजेसम्मको समय खुल्ला गरिएको पौडेलले बताए । यसैगरी औद्योगिक प्रतिष्ठान र निर्माणको काम गर्ने स्थलमा श्रमिकहरुको खाने, बस्ने, सुत्ने र स्वास्थ्य उपचारको व्यवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई काम गर्न सकिने उनले बताए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा कुनै पनि सवारी साधनलाई यात्रु बोक्न र ओराल्न रोक लगाइएको छ ।
जिल्लामा वैशाख १७ गतेदेखि निषेधाज्ञा निरन्तर छ ।
