अक्सिजन पाइएला कि नपाइएला भनेर पिरोलिन्छन् संक्रमित र कुरूवा

वैशाख ३१, २०७८

मनोज पौडेल, माधव ढुंगाना, सन्जु पौडेल

कपिलवस्तु, रुपन्देही — रूपन्देहीका कोरोना विशेष अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि स्वास्थ्यकर्मी र बिरामीका आफन्तको दौडादौड चलिरहेको छ । जिल्लाका कोरोना संक्रमितको उपचार हुने सबै अस्पताल खचाखच छन् । अक्सिजन अभाव हुन थालेपछि नयाँ कोरोना संक्रमित उपचारबाट वञ्चित हुन थालेका छन् ।

अस्पतालले आईसीयू र एचडीयूमा रहेका बिरामीलाई जसोतसो अक्सिजन आपूर्ति गराइरहेका छन् । आकस्मिक कक्ष र फिभर क्लिनिकमा रहेका बिरामीका आफन्त आफैं अक्सिजनका लागि भौंतारिन बाध्य छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र यसअन्तर्गतको धागो कारखानामा रहेको कोरोना अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक सातादेखि अक्सिजन अभाव छ । रूपन्देहीको तिलोत्तमा–१ का ३६ वर्षीय पुरुष आइतबारदेखि बुटवलस्थित कोरोना अस्पतालको एचडीयूमा उपचाररत छन् । उनलाई प्रत्येक घण्टा १५ लिटर अक्सिजन आवश्यक पर्छ ।

अस्पतालले बिहीबार बिहान परिवारका सदस्यलाई अक्सिजन जोहो गर्न सूचना दिएको थियो । ‘साँझसम्म अक्सिजन पाइएको छैन,’ ती बिरामीका कुरुवाले भने, ‘अस्पतालमा भर्ना गरेदेखि कहिले अस्पताल त कहिले आफैंले खोजेर अक्सिजन व्यवस्था गरिरहेका छौं ।’ अक्सिजनको तनावले निदाउन नसकेको उनले बताए । अक्सिजन सकिएपछि सिलिन्डर बोकेर उद्योगमा भर्न जाँदा लाम लागेर बस्नुपरेको उनले सुनाए ।

बुटवलको कोरोना अस्पतालमै तिलोत्तमा–५ का ६१ वर्षीय पुरुष भर्ना भएका छन् । पाँच दिनदखि अस्पतालमा रहेका उनलाई बुधबार राति आईसीयूमा सारिएको हो । बुधबार एचडीयू बेडमा रहेका उनलाई दिइरहेको अक्सिजन सिलिन्डर रित्तिएपछि छटपटाहट सुरु भयो । छोराले अक्सिजनका लागि विभिन्न स्थानमा फोन गरे । धेरैबेर हारगुहार गरेपछि एक सिलिन्डर पाइयो । तर अक्सिजन ल्याएर जडान गरेको दुई घण्टामै सकियो । ‘अस्पतालले आफैं खोज्नू भनेपछि मुटुले ठाउँ छोड्यो,’ बिरामीका छोराले भने, ‘रातिसम्म खोज्दा पनि अक्सिजन पाइएन । बुबालाई एचडीयूमा धेरै गाह्रो भएपछि आईसीयूमा सार्नुपर्‍यो ।’

जिल्लाकै ५२ वर्षीया एक महिलाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालको कोरोना वार्डमा उपचार भइरहेको छ । बिहीबार उनलाई आकस्मिक कक्षमा राखेर अक्सिजन चढाइएको छ ।

राम्रो उपचारले कोरोना जित्ने विश्वासले आएकी उनलाई अस्पतालले अक्सिजन सकिएपछि आफूहरूले केही गर्न नसक्ने भन्दै पटकपटक जारी गर्ने सूचनाले अत्याउने गरेको छ । 

रूपन्देहीमा कोरोना उपचारका लागि सरकारले तोकेका तीन अस्पताललाई तीन उद्योगले अक्सिजन आपूर्ति गरिरहेका छन् । उत्पादन क्षमताभन्दा दोब्बर माग भएपछि पुर्‍याउन नसकिएको लुम्बिनी अक्सिजन ग्यासका सञ्चालक रमेश खनालले बताए । ‘यस्तो बेला विद्युत् अवरुद्धसमेत भएर क्षमताअनुसार उत्पादन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘उद्योगबाहिर एकपटकमा २ सय जना लाइनमा हुन्छन्, कसरी थेग्ने ?’

लुम्बिनीले अहिले २ सय र शंकर ग्यास उद्योगले ६ सय सिलिन्डर उत्पादन गरिरहेका छन् तर यहाँ कोरोना उपचार हुने अस्पतालमा दिनमा २ हजारभन्दा बढी सिलिन्डर खपत भइरहेको छ । जिल्ला प्रशासनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा दिनमा १ हजार सिलिन्डर अक्सिजन आवश्यक छ । भैरहवाको भीम अस्पतालमा ३ सय ६० र शिक्षण अस्पतालमा ७ सय सिलिन्डर खपत भइरहेको छ । उद्योगले सम्झौताअनुसार अस्पताललाई दिनैपर्ने अक्सिजनसमेत नपाएको युनिभर्सल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लाका उद्योगबाट अक्सिजन अन्त नजाओस् भनेर प्रहरीसँग समन्वय गरेर सिलिन्डर अस्पतालमा पुर्‍याइरहेको बताए । जिल्ला प्रशासनले बिहीबार सूचना जारी गरेर अस्पतालमा अक्सिजनको चरम अभाव भएको जनाउँदै आवश्यकता पर्न सक्ने बहानामा अक्सिजनको सिलिन्डर स्टक नराख्न आग्रह गरेको थियो । ‘होम आइसोलेसनमा प्रयोग भएको भए त्यसको जानकारी सुरक्षा निकायमा दिन सर्वसाधारणलाई आग्रह गरिएको छ,’ प्रजिअ तामाङले भने, ‘स्थानीय तह र विभिन्न संघसंस्थाले राहत प्रदान गर्ने नाममा आफूनिकट व्यक्तिका घरमा अक्सिजन पुर्‍याउन र सिलिन्डर होल्ड गर्न थालेपछि प्रशासनले कडाइ गर्न थालेको हो ।’ लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले आवश्यक परिहाल्छ कि भनेर अर्थ, पहुँच र बल भएका व्यक्तिले घरमा ‘ब्याक अप’ का रूपमा सिलिन्डर थन्क्याएको गुनासोसमेत गरेका छन् । 

अक्सिजन अभाव हुन थालेपछि युनिभर्सल शिक्षण अस्पतालले संक्रमित भर्ना कटौती गर्न थालेको छ । १ सय २५ जनासम्मलाई भर्ना गरेर उपचार गर्दै आएको यस अस्पतालमा अहिले ६६ जना संक्रमित उपचाररत छन् । इमर्जेन्सी कक्षमा रहेका २५ वटा बेडमा पनि कोभिडका बिरामी भरिएपछि अस्पतालले थप २० बेडको एचडीयू–३ उपचार कक्ष तयार पारेको थियो । अक्सिजन सुनिश्चित गर्न नसकेपछि यो कक्ष सञ्चालनमै आउन सकेन ।

भीम अस्पतालमा अन्य दिनको तुलनामा कोभिड बिरामी घटेर बिहीबार ६२ जना उपचाररत रहँदा पनि अस्पतालमा एक घण्टाभन्दा धेरै समयलाई थेग्न सक्ने गरी अक्सिजन उपलब्ध छैन । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले आठ–दसवटा सिलिन्डर खाली हुनासाथ गाडीसहित कर्मचारीलाई दौडाएर प्लान्टमा पठाउने र भर्नासाथ ल्याइहाल्ने गरिएको बताए ।

जिल्ला अस्पताल कपिलवस्तुमा पनि अक्सिजन अभाव भएको छ । यसले बिरामीका आफन्त छटपटिन थालेका छन् । चारैतिर हारगुहार गरिरहेका छन् । बिहीबार बिहानदेखि नै अभाव भएको हो । अस्पताललाई नियमित अक्सिजन सप्लाई गर्ने बुटवलस्थित लुम्बिनी अक्सिजन प्रालिमा ७० वटा खाली सिलिन्डर बुधबार पठाइएको थियो । ‘बुधबार साँझै आइपुग्नुपर्ने थियो,’ अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले भने, ‘नआउँदा भोक प्यास हराएको छ । हाम्रो कुरा नसुनेपछि बिहान झिसमिसेमै प्रजिअ चक्रपाणि पाण्डे र सांसद बृजेशकुमार गुप्तालाई हारगुहार गर्‍यौं । उहाँहरू सक्रिय भएर १५ सिलिन्डर जोहो गर्नुभयो ।’

भैरहवामा रहेको शंकर अक्सिजन प्रालिबाट बिहीबार बिहानै उक्त अक्सिजन सिलिन्डर आइपुग्यो । धेरै राहत भयो । जसोतसो ३ बजेसम्म चल्यो । फेरि अभाव हुन थाल्यो । बुटवलमा अक्सिजन लिन लाम लागेको गाडीलाई जति पाइन्छ, उति लिएर आउन भनेपछि १० अक्सिजन सिलिन्डर दिउँसो आइपुग्यो । त्यसले ६/७ बजेसम्म चल्यो । त्यसपछि अभाव सुरु भएको डा. बन्जाडेले बताए । ‘बिरामीभन्दा आफूलाई तनाव भएको छ,’ उनले भने । समयमा अक्सिजन आपूर्ति हुन नसके ४५ बिरामीको स्वास्थ्य संकटमा पर्ने उनले बताए ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully