आन्तरिक उडान अनिश्चितकालका लागि बन्द - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका छन् ।


नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको चेन ब्रेक गर्न (सीसीएमसी) निर्देशक समितिको सिफारिसमा यसअघि वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म (१२ दिन) का लागि सरकारले आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।

तर प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

ओलीलाई ठाकुर र महतोले दिए बधाई, एमालेले बहुमतको सरकारमा दाबी नगर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिएका छन् । प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुगेका ठाकुर र महतोले आफ्ना मागबारे छलफल गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । 'उहाँहरू आउनुभएको थियो । उहाँहरूका जुन मागहरू छन् त्यसै सन्दर्भमा कुराकानी भयो । उहाँहरूले प्रधानमन्त्रीलाई बधाई दिनभुयो, प्रधानमन्त्रीले धन्यवाद दिनुभयो,' नेम्वाङले भने, 'मागहरूबारेमा थप छलफल गर्दै अगाडि बढ्ने कुरा भयो ।'

ठाकुर र महतोले अन्य दलहरूसँग पनि आफ्ना मागबारे नै छलफल गरेको र एमालेसँग पनि सोही विषयमा छलफल गर्न आएको नेम्वाङको भनाइ थियो । 'उहाँहरू मागकै बारेमा अडानमा हुनुहुन्छ । त्यसैबारेमा कांग्रेस, माओवादीसँग पनि कुरा गरेका थियौं भन्नुभयो । सोही मागमा रहेर अडिग रह्यौं भन्ने उहाँहरूको भनाइ थियो,' भेटमा सहभागी नेम्वाङले भने ।

प्रधानमन्त्रीले बहुमतको सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्न चाहेका छन् ।

'प्रधानमन्त्रीले जारी प्रक्रियालाई पर्खिइराख्नुभएको छ । अब ९ बजेपछि अर्को प्रक्रिया सुरु हुन्छ,' नेम्वाङले भने, 'संविधानको धारा ७६ उपधारा २ तिर जाइँदैन । ९ बजेपछि सायद ९:५, ९:७ तिर अहिलेको अर्को प्रक्रिया घोषणा हुन्छ होला ।'

नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री ओलीले जसपा नेताहरूसँग आग्रह नगरेको बताए । 'सत्ता समीकरणबारे जसपाका नेताहरूसँग कुरा भएको छैन,' उनले भने ।

राष्ट्रपतिले दिएको तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिने भएका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×