बेड र अक्सिजन नपाएपछि सुर्खेतबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए संक्रमित
सुर्खेत — वीरेन्द्रनगर–७, इत्राममा बस्ने गोविन्द खत्रीले कोरोना संक्रमित आमालाई उपचार गराउन सुर्खेतका सरकारी र निजी अस्पताल डुलाए । ३ दिनसम्म पनि बेड र अक्सिजन पाउन सकेनन् । अवस्था नाजुक बन्दै गएपछि उनले आमालाई नेपालगन्ज लाने सोचेका थिए । तर त्यहाँको बिजोग थाहा पाए ।
त्यसपछि उनी लागे जुम्लातिर । शनिबार बिहान ८ बजे सुर्खेतबाट एम्बुलेन्समा हिँडेका खत्री १६ घण्टामा मध्यरात जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । ‘जुम्ला पुग्नेबित्तिकै आमालाई बचाइयो जस्तो लाग्यो,’ खत्रीले कान्तिपुरसँग भने, ‘पहिला ज्यान जोगाउन सुर्खेत, नेपालगन्ज, काठमाडौं जानुपथ्र्यो, अहिले जुम्ला जाने दिन आयो ।’
शनिबारै सुर्खेतबाट अर्का एक संक्रमित पनि एम्बुलेन्समा जुम्ला पुगे । उनले पनि सहरमा रहेका अस्पतालको भर नहुँदा जुम्ला जानुपरेको बताए । सुर्खेत, नेपालगन्जलगायत सहरी क्षेत्रका अस्पतालमा अक्सिजन र बेड नपाएर कोरोना संक्रमितको मृत्यु भइरहँदा जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पताल कर्णालीवासीका लागि भरोसा बनेको छ । केही वर्षअघिसम्म जुम्लाका नागरिकले डाक्टर नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले समय बदलिएको छ । प्रतिष्ठानको मजबुत पूर्वाधार र पर्याप्त स्वास्थ्य जनशक्ति कोरोना संकटमा भरोसा बनेका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै जुम्लामा सुर्खेतलगायत ठाउँबाट बिरामी जाने क्रम मात्र सुरु भएको छैन, प्रतिष्ठानले आफ्ना चिकित्सकलगायतका स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा कोरोना प्रतिकार्यमा पनि खटाइरहेको छ । आइतबार मात्र नेपालगन्जमा डा. प्रवीण गिरीको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना संक्रमितको उपचार थालिसकेको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र संघीय स्वास्थ्य मन्त्रालयको अनुरोधमा जुम्लाबाट जनशक्ति पठाइएको हो । ‘कोरोना संकटमा हामीले कम्तीमा कर्णाली प्रदेशलाई राम्रो सेवा प्रदान गर्न सक्छौं भन्ने विश्वासिलो आधार बनाएका छौं,’ उनले भने, ‘अस्पतालमा आएका बिरामीलाई उपचार गर्ने र हाम्रो जनशक्तिलाई बाहिर पठाएर भए पनि सेवा प्रवाह गर्ने योजना बनाएका छौं ।’
करिब एक दशकअघि स्थापना भएको प्रतिष्ठान पछिल्लो समय आफूलाई मजबुत बनाएसँगै कर्णालीको संकट टार्ने अवस्थामा पुगेको हो । रजिस्ट्रार काफ्लेका अनुसार अहिले प्रतिष्ठानको शिक्षण अस्पतालमा ३ सय बेड छन् । तीमध्ये आईसीयू बेड १० वटा, एचडीयू बेड २५ वटा र भेन्टिलेटर १३ वटा छन् । अहिले १० वटा बेडमा अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको छ । अन्य बेडमा पाइप जडानको प्रक्रिया सुरु भएको छ । अस्पतालका नियमित बिरामीका लागि १ सय बेड छुट्याएर कोरोना संक्रमितको लागि करिब २ सय बेड व्यवस्थापन गर्न सकिने रजिस्ट्रार काफ्लेको भनाइ छ । ‘अक्सिजन प्लान्ट सञ्चालनमा छ । थप अक्सिजनका लागि सिलिन्डरबाट आपूर्ति गर्न सकिने भएकाले समस्या छैन, जनशक्ति पनि पर्याप्तै छ,’ उनले भने, ‘जिल्ला बाहिरबाट आउने कोरोनाका गम्भीर बिरामीलाई भर्ना लिएर उपचार गर्न कुनै कठिनाइ छैन ।’ अहिले अस्पतालमा कोरोनाका ११ जना संक्रमित उपचाररत रहेका उनले बताए ।
प्रतिष्ठान जनशक्तिको हिसाबले पनि अब्बल छ । ७० जना चिकित्सकसहित करिब २ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमता अनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक–स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिने उनले बताए । ‘हामीले एक वर्षदेखि नै कोरोना प्रतिकार्य योजनाअनुसार विभिन्न जिल्लामा जनशक्ति पठाइरहेका छौं,’ उनले भने, ‘अब पनि जनशक्ति अभाव हुने सुर्खेत, नेपालगन्जका साथै छिमेकी जिल्लाका अस्पतालमा पनि यहाँको जनशक्ति पठाउने योजना बनाएका छौं ।’
कर्णाली प्रदेश सरकारका अनुसार प्रदेशभर आईसीयू बेड ६२ वटा, एचडीयू बेड ५० वटा र भेन्टिलेटर ३४ वटा छन् । तीमध्ये सबैभन्दा मजबुत अवस्था जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छ । ‘प्रविधि र जनशक्तिको हिसाबले प्रतिष्ठान नेपालकै राम्रो अस्पताल भइसकेको छ,’ उनले भने, ‘कोरोनाको संक्रमणका बेला यसले हामीलाई थप भरोसा दिएको छ ।’
अक्सिजन आपूर्ति गर्न सकिने
प्रतिष्ठानले आफ्ना लागि आवश्यक पर्ने अक्सिजन आफैं उत्पादन गरिरहेको छ । बेडहरूमा प्लान्टको पाइपलाइन जोड्नुका साथै २ सयवटा अक्सिजन सिलिन्डर छन् । दुईवटा बुस्टर (अक्सिजन उत्पादन क्षमता बढाउने उपकरण) जडान गरे कर्णालीका अन्य जिल्लाका लागि पनि अक्सिजन पठाउन सकिने रजिस्ट्रार काफ्लेको भनाइ छ । उनका अनुसार यसका लागि करिब १ करोड बजेट आवश्यक पर्छ । ‘हामीले प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेका छौं, बुस्टर जोड्नेबित्तिकै अन्यत्र पनि अक्सिजन पठाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि विद्युत् आपूर्ति पनि बढाउनुपर्ने हुन सक्छ ।’ कोरोना महामारी सुरु भएसँगै कर्णाली प्रदेश सरकारले प्रतिष्ठानलाई आवश्यक बजेट दिनुका साथै सहकार्य गरे पनि पछिल्लोपटक बजेट नदिएको उनले बताए ।
कोरोना संक्रमितको सबैभन्दा बढी चाप रहेको सुर्खेतस्थित प्रदेश अस्पतालमा अक्सिजनको चर्को अभाव छ । अस्पतालमा आइतबारसम्म ४५ जना बिरामी भर्ना भएका छन् । तीमध्ये १० जना गम्भीर रहेका अस्पतालको कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । अक्सिजन अभाव भएपछि कोरोना विशेष अस्पताललाई पुरानो भवनमा सारिएको छ । उक्त भवनमा अक्सिजन प्लान्ट जडान गरिएकाले संक्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले पुरानो भवनमा अधिकतम १ सयजना संक्रमितको उपचार गर्न सकिने बताए ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा संक्रमितको मृत्युदर बढेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातादेखि मृत्युदर उकालो लागेको छ । पछिल्लो चौबीस घण्टामा मात्र ४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कर्णालीमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८८ रहेकामा सुर्खेतमा मात्र ९ सय ६६ जना छन् ।
