काठमाडौँ — नेकपा एमालेले कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोभिडका संक्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बैठकले कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै बैठकले समग्र पार्टीपंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’
