काभ्रेमा दुई कोरोना संक्रमितको मृत्यु

वैशाख १९, २०७८

नगेन्द्र अधिकारी

काभ्रे — आइतबार जिल्लामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बनेपाका ६१ वर्षीय पुरुष र बनेपाकै सुन पसलमा काम गर्दै आएका बंगालका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वैशाख १५ गते अस्पताल भर्ना भएका ६१ वर्षीय पुरुषमा निमोनिया देखिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको आइतबार बिहान मृत्यु भएको हो । 

बनेपाको एक सुन पसलमा काम गर्दै आएका भारतको बंगालका ४० वर्षीय पुरुष १० दिनअघि घरबाट काममा फर्केका थिए । भारतबाट फर्किए लगत्तै बिरामी परेका उनी घरमा नै आराम गरिरहेका थिए । एक्कासि स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि काभ्रेमा ६७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको कारण जिल्लामा मृत्यु हुनेको संख्या ६९ पुगेको छ । 

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully