अछाम — जिल्लामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोरोनाको पहिलो लहरमा ५ र दोस्रो लहरमा ३ जना गरी अछाममा ८ जनाको मृत्यु भएको हो ।
मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
ती पुरुषलाई वैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
दोस्रो लहरमा देखिएका संक्रमितमा कडा लक्षण देखिएको उनको भनाइ छ । ‘पछिल्लो समयमा १ सय ६६ सक्रिय संक्रमित छन् । तीमध्ये एकजनाको अवस्था जटिल छ । उनलाई जिल्ला अस्पतालमै राखिएको छ,’ जोशीले भने ,‘शनिबार राति मृत्यु भएका पुरुषको ट्राभल हिस्ट्री केहि पनि छैन । समुदायमै कोरोना संक्रमण फैलिएको देखियो ।’
