व्यवसायीले नै मागे लकडाउन

दर्जनौं विवाह, भोजभतेर भइरहेको, निषेध क्षेत्रबाटै जन्ती लैजाने, प्रशासनिक कामका लागि सदरमुकाम आउने क्रम नरोकिएकाले निषेधाज्ञा फितलो भएको गुनासो

वैशाख १९, २०७८

प्रकाश बराल

बागलुङ — प्रशासनले लगाएको निषेधाज्ञा र लकडाउन अटेर भइरहेको समयमा जिल्लाका व्यवसायी र नागरिक अगुवाले भने लकडाउन माग्दै प्रशासन गुहारेका छन् । तीव्र रूपमा फैलिएकाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा एक साता बन्दाबन्दी गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । संघको शनिबारको आकस्मिक बैठकले बन्दाबन्दीका लागि प्रशासनलाई आग्रह गरेको हो । 

संघले सरकारको स्वास्थ्य मापदण्डसमेत अनिवार्य पालना गर्न व्यवसायीलाई अपिल गरेका छन् । ‘बजार क्षेत्रमा बढी संक्रमित देखिएको, बन्दाबन्दी नहुँदा जोखिम बढेको छ,’ राजभण्डारीले भने, ‘प्रशासनले कडाइ नगर्दा निषेधाज्ञा अबज्ञा भइरहेको छ, त्यसैले कडा बन्दाबन्दी चाहियो ।’ संघ र अगुवाले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै निर्णय हस्तान्तरण गरेका छन् ।

व्यवसायीले वित्तीय क्षेत्रमा काम गर्ने र व्यापारीको पीसीआर परीक्षण र खोपको व्यवस्थाको पनि माग गरेका छन । क्वारेन्टाइन र आइसोलेसन संख्या बढाउन पनि भनिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सरकारको स्वास्थ्य मापदण्ड र निर्देशनअनुसार आदेश बढाउने बताए । प्रशासनले यहाँको बलेवा क्षेत्रलाई शनिबारदेखि वैशाख २४ सम्म निषेधाज्ञा जारी गरेको छ । बलेवा क्षेत्रका विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । एउटै विद्यालयका धेरै जनामा देखिएपछि अघिल्लो सातादेखिनै यहाँ निशेधाज्ञा लगाइएको थियो । 

एक साता लामो निषेधाज्ञामा बलेवा क्षेत्रमै दर्जनौं विवाह, भोजभतेर भइरहेको, निषेध क्षेत्रबाटै जन्ती लैजाने, प्रशासनिक कामका लागि सदरमुकाम आउनेजाने क्रम नरोकिएकाले निषेधाज्ञा फितलो भएको गुनासो बढेको छ । ‘निषेधाज्ञा लगाएको छ भनेर घर नगई डेरामा बसेको छु, तर प्रशासनले वास्ता नगर्दा लापरबाही भइरहेको छ,’ बागलुङ–१२ का विष्णु चापागाईंले भने, ‘प्रशासनले कडाइ गर्नुपर्नेमा नगर्दा संक्रमण बढ्ने देखियो ।’ कडा लकडाउन नगरेसम्म संक्रमणको जालो नमेटिने उनले बताए ।

सातादेखि जिल्लाका दशवटै पालिकाले विद्यालय बन्द गरेका छन् । प्रशासनिक काम भने नियमित राखेपछि मानिसको आउजाउ कायमै भएको हो । केही स्थानमा मात्रै निषेधाज्ञा लगाए पनि शनिबारसम्म लामो दूरीका यातायात सञ्चालन भइरहेका छन् । बागलुङदेखि नेपालगन्ज र भैरहवासम्मका बस नियमित चलेकाले संक्रमणको केन्द्र बनेका स्थानबाट पनि सर्वसाधारण नियमित आएका छन् । भारतबाट आएकाहरू पनि सोझै गाउँ पुगेकाले संक्रमणको जोखिम बढेको अर्का व्यवसायी गणेशराज लम्सालले बताए । उनले भने, ‘सक्रिय संक्रमित २ सय नपुगेको भन्दै प्रशासन पछि हट्दा जोखिम बढेको हो ।’ परीक्षणको दायरा फराकिलो नभएकाले यहाँ सक्रिय संक्रमित धेरै देखिएको छैन । 

आईसीयू तीनवटा, दक्ष जनशक्ति शून्य

धौलागिरि अस्पतालमा तीनवटा आईसीयू कक्ष भए पनि उपकरणविहीन अवस्थामा रहेकाले बेडका रूपमा सीमित भएका छन् । गत वर्ष कोरोनाको संक्रमण तीव्र भएको बेला जडान गरिएका आईसीयूमा अझै पनि अत्यावश्यक उपकरण जोड्न बाँकी छ । आईसीयू सञ्चालनका लागि दक्ष स्वास्थ्यकर्मीसमेत छैनन् । ‘गम्भीर प्रकृतिका बिरामी आएमा त्यसबाट उपचार सम्भव छैन,’ मेसु डा. शैलेन्द्र पोखरेलले भने, ‘धेरै उपकरण जडान गर्न र सञ्चालन गर्न सक्ने जनशक्ति अभाव छ ।’ उपकरण र जनशक्ति व्यवस्थापनका लागि पटकपटक सरकारसँग भने पनि नपाएको उनले बताए ।

अस्पतालमा २५ बेड आइसोलेसन रहेकोमा अब ५० बेड पुर्‍याउने तयारी गरेको छ । कम्तीमा अक्सिजन दिन मिल्ने बेडसहितको आइसोलेसन बनाउँदा बिरामीको उपचार सम्भव हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘पूर्वाधार भए पनि जनशक्ति र उपकरण बढी महत्त्वपूर्ण रहेछन्,’ रानामगरले भने, ‘निरन्तरको पहलबाट पनि उपकरण र तालिम प्राप्त स्वास्थ्यकर्मी भित्र्याउन सकिएको छैन ।’

आईसीयू सञ्चालनका लागि कम्तीमा ३ जना दक्ष स्वास्थ्यकर्मी चाहिएको पोखरेलले बताए । नभएपछि डाक्टरले नै काम चलाइरहेका छन् । आईसीयूमा बिरामी राख्दा मुटुको चाल थाहा पाउनेदेखि धेरै उपकरणसमेत नहुँदा उपचार प्रभावित भएको उनले बताए । अस्पतालमा ट्रमा कक्ष सञ्चालनको पनि तयारी छ । त्यसका लागि पनि दक्ष स्वास्थ्यकर्मीको आबस्यकता पर्ने पोखरेलले बताए । ‘प्रदेश सरकारले ५० लाख रुपैयाँ पठाएर उपकरण खरिद गरेका छौं,’ उनले भने, ‘भौतिक सामान किन्न सजिलो छ, दक्ष जनशक्तिको व्यवस्थापन कठिन भयो ।’ ट्रमा हेर्ने दक्ष चिकित्सकको खोजी भएको उनले बताए ।

अस्पतालमा कम्तीमा १६ मेडिकल अधिकृत चाहिनेमा ३ जनामात्रै छन् । उनीहरू पनि करारका हुन् । दरबन्दीका अधिकांश मेडिकल अधिकृत सरुवा र काजमा पठाइएको छ । बागलुङमा कार्यरत ३ जनाले पर्वत, स्याङ्जा लगायतका जिल्लामा मेडिकल सुपरिटेन्डेन्ट पाएर गएको समितिका सदस्य शालिकराम शर्माले बताए । ‘हामी मन्त्रालय धाएका छौं, तर पठाइएको छैन,’ उनले भने, ‘संकटका बेला डाक्टर नभएर सास्ती भएको छ ।’ आईसीयू, आइसोलेसन, ओपीडी, डायलसिस जस्ता विभागमा मेडिकल अधिकृत अभाव भएको उनले बताए । त्यस्तै ८ नर्ससमेत अभाव छ ।

कोरोना भाइरस

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully