सडकले छोएन ताप्लेजुङका ३ वडा

वैशाख १९, २०७८

आनन्द गौतम

ताप्लेजुङ — भौगोलिक हिसाबमा डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङका तीन वडालाई सडक सञ्जालले जोड्न बाँकी छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ६१ वडा छन् । मिक्वाखोलाको ५ नम्वर पापुङ, सिरिजंगाको ७ नम्बर मामांखे र फक्ताङलुङ गाउँपालिकाको ७ नम्बर ओलाङचुङगोला मात्रै सदरमुकाम फुङलिङसँग सडकले जोडिन बाँकी छन् । 

ओलाङचुङगोलालाई चीनको तिब्बतबाट आएको सडकले भने जोडेको छ । चीनका यातायात साधन पटकपटक यहाँको बस्तीसम्म आउजाउ पनि गरेका छन् । सदरमुकामसँग जोडिन भने अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताए । तीनमध्ये डेढ किलोमिटर पहरा फुटाउन बाँकी छ । तमोर नदीमा पानीको सतह बढ्नुअघि नै एक्स्काभेटर मेसिन पार गराउन सके ओलाङचुङगोलामा आगामी दसैंअघि नै सडकले जोडिने वालुङले बताए । ओलाङचुङगोलाको बस्तीदेखि बगर भन्ने स्थानसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । अब त्यसलाई व्यवस्थित गर्न बाँकी छ । सडक निर्माणको काम मूलघाट दोभान ओलाङचुङगोला सडक आयोजनाले गरिरहेको छ । 

मिक्वाखोलाको पापुङ सिमानासम्म पनि सडक पुगेको छ । मेवाखोलामा हिमपाइप राखेर एक्स्काभेटर मेसिन तारेर सडक निर्माणको काम भइरहेको छ । यहाँ हाइड्रोपावर कम्पनिले मिलेर ट्र्याक खोल्ने काम गरेका छन् । बस्तीसम्म पुर्‍याउन भने बाँकी छ । 

‘वडाको सीमामात्रै छोएको हो, बस्तीसम्म नपुग्दा वडामा सडक पुगेको मानिँदैन,’ वडाध्यक्ष डन्डु शेर्पाले भने, ‘हामी गाउँपालिकाले हाइड्रोसँग मिलेर सडक बिस्तारलाई जोड दिइरहेका छौं ।’ जिल्लाको पश्चिमी क्षेत्रमा सडक नपुगेको आफ्नो मात्रै वडा भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले एक निर्वाचन क्षेत्र एक सडक योजनाका लागि बालुवाटारबाट गरेको शिलान्यासमा मिक्वाखोलाको १ देखि ५ नम्बर वडा जोड्ने सडक रहेको छ । मिक्वाखोलामा अहिले मेरिङदेन गाउँपालिकाबाट सडक जोडिएको छ भने फुङलिङ नगरपालिकाबाट तमोर नदीको पुल तरेर खोक्लिङ, लिवाङ हुँदै साँवा जोड्ने सडकको निर्माण कार्य पनि भइरहेको छ ।  सिरिजंगा ७ मामांखेमा आगामी आर्थिक वर्षमा सडक पुग्ने गाउँपालिका अध्यक्ष टीका गुरुङ बताउँछन् । ‘याम्फुदिन र आम्वेगुदिन दुईतिरबाट सडक निर्माणको काम गरिरहेका छौं,’ गुरुङले थपे, ‘पहरा छिचोलेर जानुपर्ने भएकाले समय लाग्यो । ८ नम्वर वडा याम्फुदिन ७ नम्बर वडाको पूर्वमा पर्छ भने आम्वेगुदिन वडा २ मा पर्छ ।

बर्खामा अवरुद्ध हुने अधिकांश सडकमा अहिले हिउँदमा भने यातायातका साधन पुगेका छन् । सिरिजंगाको १ नम्बर सिनामदेखि २ नम्बर आम्वेगुदिन ३ सिकैचा, ४ तेल्लोक, ५ पेदाङ ७ खेवाङ र ८ याम्फुदिनसम्म नै गाडी पुगेको छ । 

फक्ताङलुङ गाउँपालिकाले सबै वडामा गाडी पुर्‍याउन तमोर नदीको तीन ठाउँमा काठको पुल बनाएको छ । हिउँदभरि गाडी चलाउन अस्थायी पुल बनाएको हो । वडा नं ३ लिंखिमदेखि तमोर नदी तारेर वडा नं १ सावादिन र २ खेजेनिम गाडी चल्ने बनाइएको छ । यहाँ साना गाडी र ट्र्याक्टर चल्छन । वडा ५ तापेथोकदेखि ४ इखावु तार्न छिरुवामा अर्को अस्थायी पुल बनाइएको छ भने तापेथोकवाट वडा नं ६ लेलेप तार्न रानीपुलमा काठको पुल बनाइएको छ । 

यहाँ रेमिट हाइड्र्रोपावर कम्पनीले स्थायी पुल पनि बनाइरहेको छ । बर्खाअघि नै सकिने यो पुलले वडा ४, १ र २ बाहेकलाई जोड्छ । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला आफ्नो गाउँपालिकाका सबै वडा रिङरोडले जोडिएको बताउँछन् । यस गाउँपालिकाको १ नम्बर वडा निगुरादिन तेह्रथुम जिल्लासँग जोडिएको छ । मैवाखोला गाउँपालिका संखुवासभा र तेह्रथुम जिल्लासँग जोडिएको छ । सिदिङवा र सिरिजंगा गाउँपालिका भारतको सिक्किमसँगको सिमावर्ती क्षेत्र हो । 

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully