नेपालगन्ज — बाँकेमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आइसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ । हाल नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ३६६ जना घरमै आइसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये वडा नम्बर १० मा सबैभन्दा बढी ६५० जना घरमै आइसोलेसनमा बसेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले सामान्य लक्षणसहितका बिरामीलाई ह्वाइट हाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा छ ।
घरमै आइसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क व्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘घरमै बसेकाहरुलाई वडाकै स्वास्थ्यकर्मीले फलोअप गर्नुहुन्छ,’ उनले भने, ‘समस्या गम्भीर भएमा कोभिड वार्डमा रिफर गर्छौं ।’
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे समयसमयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताइन् ।
