काभ्रेमा कोरोनाबाट थप २ को मृत्यु, थपिए ९७ संक्रमित

वैशाख १८, २०७८

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमण पुष्टि भएका थप दुई जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो, रुघाखोकी लगायतका समस्याका कारण शुक्रबार धुलिखेल अस्पताल भर्ना भएका चौरीदेउराली गाउँपालिका –३ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । मृतक साविक माझीफेदा गाविसका पूर्वअध्यक्ष समेत हुन् । 

निमोनिया र मुटुसम्बन्धी समस्या भएर शुक्रबार धुलिखेल अस्पताल आएका  सिन्धुपाल्चोक, कुविण्डेका ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख समेत रहेका कोरोना समन्वयकर्ता डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए । चार वर्षअघि मुटुको भल्भ फेरिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मृत्यु भएको यो तेस्रो घटना हो । यसअघि काभ्रेमा ६५ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । 

यता, शनिबार मात्रै काभ्रेमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । बनेपा–१३ स्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रका ९ जना बिरामी तथा तिनका कुरुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा परीक्षण गरिएका ११ स्वाबमध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि समेत छन् । 

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully