दिल्लीको बात्रा अस्पतालमा अक्सिजन अभावले फेरि लियो आठ बिरामीको ज्यान

मृत्यु हुनेमा अस्पतालका एक चिकित्सक पनि

वैशाख १८, २०७८

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा फेरि एक पटक अस्पतालमा अक्सिजन अभावको कहालीलाग्दो घटना दोहोरिएको छ । अक्सिजन अभावले आठ बिरामीको ज्यान गएको छ ।

शनिबार दिउँसो दिल्लीको बात्रा अस्पतालमा अक्सिजन सकिँदा उपचाररार्थ ८ जना सिकिस्त कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा अस्पतालका एक चिकित्सक समेत रहेका छन् । 

भारतीय सञ्चारमाध्यमहरुले अस्पतालका मेडिकल डाइरेक्टर डा. एससीएल गुप्तालाई उद्धृत गर्दै शनिबार दिउँसो १२ बजेर ३० मिनेट जाँदा अक्सिजन सकिएर करिब एक घन्टा अक्सिजन अभाव हुँदा कोरोना संक्रमित आठ बिरामीको मृत्यु भएको हो । अक्सिजन सकिएको एक घन्टापछि मात्र अक्सिजन ट्याकंर पुगेको डा. गुप्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

त्यसअघि अस्पतालले अक्सिजन सकिन लागेको भन्दै सामाजिक सन्जालमार्फत् सहयोगका लागि याचना गरेको थियो । ‘अक्सिजन दश मिनेटका लागि मात्र छ । अस्पतालामा ३२६ जना बिरामी भर्ना छन्’ अस्पतालले जारी गरेको एसओसएस सन्देशमा भनिएको थियो । लगत्तै दिल्लीका मन्त्री राघव चढ्ढाले बात्रा अस्पतालका लागि भनेर अक्सिजन ट्याकंर हिँडिसकेको जवाफ पाँच मिनेटमा  दिएका थिए ।

अघिल्लो साता पनि दिल्लीकै दुई अस्पतालमा अक्सिजन सकिँदा ४५ बिरामीहरुको मृत्यु भएको थियो । दिल्लीको जयपुर गोल्डन अस्पतालमा २० र गंगाराम अस्पतालमा २५ जनाको सिकिस्त कोरोना बिरामीको अक्सिजन आपूर्ति अवरुद्ध हुँदा ज्यान गुमाएका थिए । 

कोरोना महामारीले सुनामीको रुपले लिएसँगै दिल्लीका अन्य अस्पतालहरुले अक्सिजनको चरम अभाव व्यहोर्दै आएका छन् । र, हरेकदिन जसो ती अस्पतालहरुले अक्सिजन आपूर्तिका लागि सहयोग गरिदिनका लागि सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने गरेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully