‘अस्पतालले लैजानुस् भन्छ, आमालाई कहाँ लानु ?’

अस्पतालमा आईसीयू तयार भए पनि सञ्चालन नहुँदा जटिल बिरामी फर्काइँदै

वैशाख १५, २०७८

दीपक परियार

पोखरा — छोरालाई भेट्न एक साताअघि वीरगन्ज पुगेकी पोखरा हस्पिटलचोककी ६१ वर्षीया महिलालाई हल्का ज्वरो आउने र बान्ता हुने भयो । वीरगन्जमै फार्मेसी चलाउने छोराले चिकित्सकको सल्लाहमा केही औषधि खान दिए । अवस्था सामान्य भएपछि उनी छोरासँगै पोखरा फर्किइन् ।

पोखरा फर्किएपछि छाती दुख्ने समस्या देखियो । गण्डकी मेडिकल कलेजमा जँचाइन् । छातीको एक्सरे गराइन् । कोरोना जाँच गर्दा पोजिटिभ देखियो । अस्पतालले कोरोना संक्रमितको उपचार नगरेको भन्दै अन्यत्र लैजान भन्यो । छोराले आइतबार आमालाई प्रदेशले पोखराको सिसुवामा स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पताल पुर्‍याए । आइतबारसम्म आमाको स्वास्थ्य जटिल बन्दै गयो । अक्सिजन दिएर राखियो । अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) तयार भए पनि सञ्चालनमा छैन । अस्पतालले आईसीयूमा राख्नुपर्ने अवस्था भएकाले आमालाई अन्यत्र लैजान भन्यो ।

कोभिडको उपचार गर्ने भनिएकै अस्पतालले बिरामी अन्त लैजान भनेपछि छोराको मन खिन्न भयो । ‘अस्पतालले लैजानुस् भन्छ, मेरी आमा मर्न लागेकी छन्, कहाँ लैजाऊँ,’ अस्पताल परिसरमा आक्रोशित हुँदै उनले भने । 

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले महिलाको अवस्था, अस्पतालबाट हुन सक्ने उपचारबारे स्पष्ट रूपमा आफन्तलाई जानकारी गराएको बताए । ‘हामीसँग ७ बेड आईसीयू छ तर चलाउने जनशक्ति छैन,’ उनले भने, ‘२ जना स्टाफ नर्सले ४० संक्रमितको हेरविचार गर्नुपरेको छ ।’

अस्पतालमा मंगलबार २० पुरुष र २१ महिला संक्रमित भर्ना भएका छन् । उनीहरूमध्ये २० जनाको अवस्था गम्भीर छ । जनशक्ति अभावमा आईसीयू सञ्चालन हुन नसक्दा गम्भीर संक्रमितलाई निजी अस्पताल लैजानुपर्ने अवस्था छ । डिपोजिट रकम र बेड चार्ज चर्को हुने भएकोले आर्थिक अवस्था कमजोर भएका संक्रमितले निजी अस्पतालमा उपचार गराउन सक्दैनन् ।

पोखराको चरक मेमोरियलमा आईसीयूमा राखेर उपचार गर्नुपरे डेढ लाख रुपैयाँ धरौटी बुझाउनुपर्छ । अक्सिजन नलगाउँदा दैनिक २० हजार रुपैयाँ बेड चार्ज तिर्नुपर्छ । उक्त अस्पतालका ७ वटै कोभिड आईसीयू बेड मंगलबारसम्म खाली थिएन । मेडिप्लस अस्पतालमा ५० हजार रुपैयाँ धरौटी, अक्सिजनसहित बेडचार्ज प्रतिदिन ३३ हजार रुपैयाँ, अक्सिजनबाहेक २० हजार रुपैयाँ बुझाउनुपर्छ । मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरसहितको बेडलाई ९० हजार धरौटी र २८ हजार रुपैयाँ प्रतिदिन, अक्सिजन लगाउनुपर्नेलाई ६० हजार रुपैयाँ धरौटी र २२ हजार रुपैयाँ प्रतिदिन, सामान्य आईसीयूमा राख्नुपर्नेलाई ३० हजार रुपैयाँ धरौटी र १६ हजार ५ सय रुपैयाँ प्रतिदिन लिइन्छ । गण्डकी मेडिकल कलेजले भने कोरोना संक्रमितको उपचार गरेको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ढिलो गरी मंगलबारबाट कोभिडका बिरामी राख्न सुरु गरेको छ । जबकि गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ९ हुँदा कास्कीमा मात्रै ७ सय २७ छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि नै कुल बेडमध्ये आधा कोभिडका लागि छुट्याउन निर्देशन दिए पनि अस्पतालले हाल ४५ बेड मात्रै छुट्याएको हो । अस्पतालमा बेड संख्या ३ सय ५० छ । अस्पतालका निर्देशक अर्जुन आचार्यले प्रदेश सरकारकै निर्णयबमोजिम पहिले संक्रमितलाई नराखिएको बताए । ‘प्रदेशको अस्पताल भरिएपछि मात्रै हाम्रोमा राख्ने भन्ने निर्णय भएको थियो,’ उनले भने, ‘यहाँ अरू बिरामीलाई पनि सेवा दिनुपर्‍यो ।’

प्रदेश सरकारले फागुनमा संक्रमितको संख्या न्यून भएकाले ११ वटै जिल्लाका गम्भीर संक्रमितलाई संक्रामक अस्पतालमा राख्ने र अरू अस्पतालमा अन्य बिरामीको उपचार गर्ने निर्णय गरेको थियो । निर्णय त भयो तर अस्पतालमा आईसीयू सञ्चालन गर्ने जनशक्ति भएनन् । चैत अन्तिम सातादेखि नै संक्रमितको संख्या बढ्न थाल्यो । संक्रामक अस्पताललाई चाप थेग्न मुस्किल भयो ।

डा.गौचनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने हो भने एक आईसीयू बेड चलाउन ४ सिफ्टमा ४ स्टाफ नर्सको आवश्यकता पर्छ । सात बेड चलाउन स्टाफ नर्स मात्रै २८ जना चाहिन्छ । अस्पतालसँग हाल भएका नर्सको संख्या हो, ६ जना । थप ४ जना नियुक्त भएका छन् तर अस्पतालमा हाजिर भइसकेका छैनन् । प्रमुख विशेषज्ञ चिकित्सक, बायोमेडिकल इन्जिनियर, सहयोगीसमेत नियुक्त भएका छैनन् । ‘प्रशासनिक वृत्तको ढिलासुस्तीले समयमै जनशक्ति थप्न सकिएको छैन,’ उनले भने, ‘फास्ट ट्रयाकमा दरबन्दी सिर्जना गर्ने र जनशक्ति थप्नेतिर प्रदेश सरकारले सोच्नुपर्छ ।’ अस्पतालमा हाल २५ स्वास्थ्यकर्मी छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा संक्रामक अस्पताललाई जनशक्ति थप्न बजेट निकासा भइसकेको बताउँछन् । ‘हाललाई चार जना नर्स थपिएपछि केही राहत होला,’ उनले भने, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ बेड आईसीयू सञ्चालनमा आएकाले आत्तिनुपर्ने स्थिति छैन ।’

आउनै मान्दैनन् चिकित्सक

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत कात्तिकमा सर्जन, गाइनेकोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट लगायत विशेषज्ञ चिकित्सक भर्नाका लागि आवेदन माग्यो । तर, एक जना चिकित्सकको पनि आवेदन परेन । माघमा मन्त्रिपरिषद्को निर्णयबमोजिम दरबन्दी सिर्जना गरेर करारमा भर्ना गर्न ५९ जना चिकित्सक र स्वास्थ्यकर्मीको आवेदन माग भयो । विशेषज्ञ चिकित्सकले आवेदन नै दिएनन् । प्रदेश मातहतका १२ अस्पतालमा पठाउने गरी भएको विज्ञापनमा चिकित्सकले रुचि देखाएनन् ।

प्रदेशले १० जिल्ला अस्पताल, पोखराका मातृशिशु मितेरी अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ लाई लक्षित गरी चिकित्सक पठाउन सकेको छैन । मन्त्रालयले हालै २१ जना चिकित्सक भर्नाको सूचना निकालेकोमा ९ जनाले आवेदन दिए । तीमध्ये ५ जना मात्रै अन्तर्वार्तामा आए । अन्तर्वार्ता दिएपछि उनीहरू पनि सम्पर्कमा आएनन् । दक्ष जनशक्ति अभावकै कारण प्रदेश मातहतका अस्पतालमा सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालनमा समस्या देखिएको छ ।

प्रदेशमा एक जनामात्रै स्थायी विशेषज्ञ चिकित्सक छन् । प्रदेशका १० जिल्ला अस्पतालमा नवौं वा सोभन्दा माथिल्लो तहका विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि आठौं तहका मेडिकल अधिकृतले कार्यालय प्रमुखका रूपमा काम गरिरहेका छन् । पर्वत जिल्ला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट बनिसके पनि दक्ष जनशक्ति अभावमा उत्पादन सुरु हुनै सकेको छैन ।

अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. रामबहादुर केसी प्रदेशमा विशेषज्ञ जनशक्तिको अभाव प्रमुख समस्या रहेको बताउँछन् । निजी अस्पतालमा सेवासुविधा धेरै हुने भएकाले सरकारीमा कम आकर्षण भएको उनले बताए । ‘सरकारी अस्पतालमा आएपछि निजीमा अस्पतालमा काम गर्न पाइँदैन भन्ने लागेको हुन सक्छ,’ उनले भने, ‘उनीहरूलाई आकर्षित गर्न विशेष सुविधासहितको प्याकेज ल्याउनुपर्छ ।’

विज्ञापन गर्दा चिकित्सक नआएपछि सम्बन्धित जिल्ला अस्पताललाई नै स्वास्थ्यकर्मी भर्ना गर्ने अधिकार दिने तयारी मन्त्रालयले गरेको छ । एक एनेस्थेसियोलोजिस्ट वा फिजिसियन र दुई जना स्टाफ नर्स अस्पताल आफैंले भर्ना गर्न पाउने गरी निर्देशिका तयार गर्न मन्त्रालयमा प्रस्ताव पठाएको डा. केसीले बताए । भने, ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि जनशक्ति अभावको समस्या केही कम हुन्छ ।’

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully