कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोना नियन्त्रणको सम्पूर्ण कमान्ड प्रधानमन्त्रीले लिनुपर्छ : भट्टराई 

काठमाडौँ — कोरोना नियन्त्रण प्रभावकारी रूपमा गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताएका छन् । मन्त्रालयबीच समन्वय अभाव रहकाले सरकारले प्रभावकारी रूपमा कोरोना नियन्त्रणका कदम चाल्न नसकेको भन्दै भट्टराईले कोरोना नियन्त्रणको सबै  जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने सुझाव दिएका हुन् ।

कोरोना नियन्त्रणको सम्पूर्ण कमान्ड प्रधानमन्त्रीले लिनुपर्छ : भट्टराई 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा भएको कोरोना नियन्त्रणबारेको छलफलका क्रममा भट्टराईले विभिन्न मन्त्रालय र तहबीच समन्वय अभावमा कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको बताए ।

सरकारका एउटा मन्त्रालयदेखि अर्को मन्त्रालय बीचमा अन्तरविरोध हुने गरेकोले कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भट्टराईको भनाइ थियो । 'स्वास्थ्य मन्त्रालयले एउटा कोणबाट हेरेको हुन्छ, उद्योग मन्त्रालयले अर्को । अर्थ मन्त्रालयले राजश्व उठ्दैन भनेर अर्को कोणबाट हेरिरहेको हुन्छ । पर्यटन मन्त्रालयले पर्यटनका गतिविधि भएनन् भनेर त्यो कोणबाट हेर्छ,' पूर्वमन्त्री भट्टराईले थपे, 'हामी सबै एकठाउँ बसेर एउटा निर्णय गर्नुपर्छ, त्यो सीसीएमसी होला । त्यो कत्तिको प्रभावकारी हुन्छ । प्रभावकारी छैन भने बनाउनुपर्छ हैन भने कोरोना नियन्त्रणमा टोटल कमान्ड प्रधानमन्त्रीले गर्नुपर्छ । किनभने एउटा मन्त्रालयको आग्रह अर्को मन्त्रालयले मान्छ भन्ने लाग्दैन । त्यहाँ टकरावहरू छन्, इगोहरू छन् । त्यसैले यसको टोटल कमान्ड प्रधानमन्त्रीले गर्नुपर्छ अनिमात्र हामी ठिक ठाउँमा जान्छौं ।'

भट्टराईले स्वास्थ्य मन्त्रालयले विज्ञहरूको सुझाव लिनुपर्ने र विदेशमा कोरोनासम्बन्धि कस्ता घटना भइरहेका छन् भन्नेबारे ताजा विवरण लिन र त्यसको विश्लेषण गर्न विज्ञ राख्नुपर्ने सुझाव दिए ।

कोरोना संक्रमितलाई राख्न अस्पतालमा बेड अभाव भइरहेको रिपोर्ट आइरहेको अवस्थामा मुलुकका कुन अस्पतालमा कति बेड छन् र तिनको अवस्था के हो भन्नेबारे यकिन विवरण पलपलमा अनलाइनमा राख्न पनि उनले सुझाव दिए । 'अस्पताल बेडहरूको पब्लिक अडिट हुनुपर्छ । कहाँ कति बेड कस्तो अवस्थामा छन् भन्नेबारे यकिन विवरणमा अनलाइनमा राख्नुपर्छ । संक्रमित बेड कहाँ छ भनेर खोज्दै हिँड्ने हैन कि अनलाइन हेरेर खाली ठाउँमा जाने व्यवस्था गर्नुपर्छ,' उनको सुझाव थियो ।

कोरोना नियन्त्रणका लागि आवश्यक निर्णय लिन सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको छ । जसले मन्त्रिपरिषद्लाई के गर्ने भन्ने सिफारिस मन्त्रिपरिषद्लाई गर्दै आएको छ । सीसीएमसीलाई लिएर सुरुदेखि नै मन्त्री, सांसदहरूले प्रश्न उठाउँदै आएका छन् । सीसीएमसीको वैधानिकतामा पनि प्रश्न उठ्ने गरेको छ ।

प्रकाशित : वैशाख १४, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?