भारतबाट फर्कनेको लर्को

कोरोना संक्रमण तीव्र बनिरहेको दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात, देहरादुनलगायतका सहरबाट नेपालीहरु घर फर्किने क्रम बढेको छ, गड्डाचौकीबाट मात्रै दिनहुँ ४–५ सय जना भित्रिइरहेका छन्
भवानी भट्ट

कञ्‍चनपुर — भारतको हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने कैलाली टीकापुरका लालबहादुर साउद आइतबार गड्डाचौकी नाका हुँदै घर फर्किए । दुई महिनाअघि मात्रै हिमाञ्चल पुगेका उनी भारतमा फेरि लकडाउन हुने हल्लाका कारण चाँडै फर्किएका हुन् ।

भारतबाट फर्कनेको लर्को

‘भारततिर फेरि लकडाउन हुने हल्ला चलेको छ, घरमा पनि गहुँ कटाइको काम सुरु भएको छ,’ ५५ वर्षीय साउदले भने, ‘पोहोर लकडाउनका कारण धेरै दुःख पायौं, त्यसैले यसपालि समयमै फर्कियौं ।’

भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरू घर फर्किन थालेका छन् । कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादुनलगायतका सहरबाट नेपालीहरू घर फर्किने क्रम बढेको छ । खेतीपातीको पनि काम सुरु हुने र नयाँ वर्ष विषु पनि नजिकिनै लागेका कारण पनि उनीहरू गएको केही दिनमा घर आउन लागेका छन् । ‘कोरोना बढ्न लाग्यो भनेर फेरि काम बन्द हुन लागेको छ,’ साउदसँगै फर्किएका टीकापुरकै टंक साउदले भने, ‘मजदुरीको काम पनि राम्ररी पाइँदैन, फेरि लकडाउने हुने डर, त्यहाँ बसेर के गर्नु ?’ उनले घर फर्केर खेतीपातीको कामसँगै चाडपर्व पनि मनाउन सजिलो हुने बताए ।

भारतका मुख्य सहरहरूमा संक्रमणको दर बढ्न थालेपछि केही दिनयता नाकामा घर फर्किनेहरू बढेका छन् । संक्रमण बढी देखिएकै ठाउँबाट बढी संख्यामा नेपाली फर्किइरहेको सुरक्षाकर्मीहरू बताउँछन् । सशस्त्र प्रहरीको गड्डाचौकीस्थित सीमा सुरक्षा पोस्टका अनुसार दिनहुँ ४/५ सय जना यो नाकाबाट भित्रिइरहेका छन् । घर फर्किनेको संख्या बढिरहेकै बेला कामको खोजीमा भारततर्फ जाने क्रम पनि चलिरहेकै छ । गड्डाचौकी नाकाबाट दिनहुँ दुई/अढाई सयको संख्यामा भारततर्फ गइरहेको सीमामा तैनाथ सशस्त्र सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको पञ्जाबबाट गड्डचौकी नाका हुँदै घर फर्किन लागेका डोटीको बोगटानका एक जनामा आइतबार आरडीटी एन्टिजेन पोजिटिभ देखियो । स्वास्थ्य परीक्षणका क्रममा उच्च ज्वरो देखिएका उनको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । शुक्रबार पनि पञ्जाब र दिल्लीबाट घर फर्किन लागेका दुई जनामा एन्टिजिन परीक्षणमा संक्रमण देखिएको थियो । उनीहरू एक जना कैलालीका र अर्का डोटीका थिए । दुवै जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतको संक्रमणको दर बढेसँगै नाकामा एन्टिजेन परीक्षण सुरु गरिएको हो । परीक्षण सुरु गरेको १० दिनको अवधिमा ८ जनामा संक्रमण देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज हेल्थ असिस्टेन्ट आकाश बारुडीले बताए । उनका अनुसार दैनिक ५०/६० जनाको एन्टिजेन परीक्षण भइरहेको छ । आइतबार पनि ५१ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । ‘संक्रमणको दर उच्च भएका क्षेत्रबाट आएका र लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षण भइरहेको छ,’ बारुडीले भने, ‘दिल्ली, महाराष्ट्र, पञ्जाब, गुजरात, देहरादुन, चण्डीगढलगायतका क्षेत्रबाट आउनेहरू उच्च जोखिममा छन् ।’

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार हालसम्म गड्डाचौकी नाका र जिल्लाका विभिन्न क्षेत्रमा १ हजार ३ सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । जसमध्ये गड्डाचौकी नाकामा ८ सहित ५४ जनामा संक्रमण देखिएको छ । उनका अनुसार एन्टिजेन पोजिटिभ देखिएकालाई पनि महाकाली अस्पताल र विभिन्न स्थानीय तहका आइसोलेसन केन्द्रमा राखिएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?