डीसीसीएमसी फेरि क्रियाशील

आवागमनको अभिलेख र तापक्रम मापन अनिवार्य गर्न निर्देशन

चैत्र १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना महामारी दोस्रो लहरमा फैलिन थालेपछि नेपालमा त्यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई पुनः क्रियाशील बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको डीसीसीएमसीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायतका प्रतिनिधिको सहभागिता हुन्छ । महामारीविरुद्ध प्रतिकार्य योजना तय गर्ने निकाय पनि यही हो ।

यसकै सिफारिसका आधारमा प्रजिअले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, विभिन्न सेवा सञ्चालनमा रोक एवं नियन्त्रण र अस्थायी बन्देज लगाउन सक्ने व्यवस्था छ । यो संयन्त्रले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनबारे पनि निर्णय गर्छ ।

असोजपछि केही निष्क्रिय जस्तै बनेको डीसीसीएमसी भारतमा कोरोना महामारी बढेपछि नेपालमा प्रतिकार्य योजना तय र कार्यान्वयन गर्न पुनः सक्रिय बनेको हो । कोभिड–संकट व्यवस्थापन केन्द्रको चैत १२ गते अपराह्नसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ३ हजार २० जनाको मृत्यु भइसकेको छ । २ लाख ७६ हजार ५ सय ९ जनामा संक्रमण देखिएकामा २ लाख ७२ हजार २ सय ७२ जना कोरोनाबाट मुक्त भइसकेका छन् । १ हजार २ सय १७ जना निको हुन बाँकी छ । ५५ जना क्वारेन्टाइनमा छन् । बाँकी घरमै बसेर उपचाररत छन् ।

महामारी रोकथाम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयले सार्वजनिक सभा सम्मेलन, भेला, जुलुस, जात्रा/महोत्सव, भीडभाड हुने अन्य कार्यक्रम नगर्न पनि अपिल गरेका छन् । महामारीका कारण लगाइएका कतिपय प्रावधान गएको साउनयता खुकुलो बनाइँदै आवागमन र सेवा नियन्त्रित रूपमा सञ्चालन गर्न दिइएको थियो ।

उद्योग/कलकारखानालगायत क्षेत्र असोजपछि जनस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन अनुमति दिइएको थियो । तर लकडाउन र निषेधाज्ञा हटेपछि भीडभाड हुने गतिविधि बढेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नै जनस्वास्थ्यलाई बेवास्ता गर्दै भीडभाड र आमसभामा सहभागी बनेका थिए । जनस्वास्थ्यलाई बेवास्ता गरेर सभा सम्मेलन गरेकामा जनस्तरबाट पनि विरोध भएको थियो । पछिल्लोपटक सरकारले फेरि मापदण्ड पालनालाई कडाइ गर्न खोजेको हो ।

होटल/रेस्टुराँलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाइएको समयसीमा र जनस्वास्थ्य मापदण्ड पालनालाई कडाइका साथ लागू गर्नसमेत भनिएको छ । यो निर्देशनपछि उपत्यकास्थित काठमाडौं र ललितपुर प्रशासनले राति ११ बजे र भक्तपुरले ९ बजेसम्म रात्रि व्यवसाय सञ्चालन अनुमति दिएका छन् । सीमा हुँदै आवागमन गर्ने सबैजनाको अभिलेख अनिवार्य राख्न, तापक्रम नाप्न र शंका लागेकालाई त्यहींबाट अस्पताल, क्वारेन्टाइन वा आइसोलेसनमा पठाउन पनि डीसीसीएमसीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । निर्देशन अटेर गरिए कानुनअनुसार कारबाही हुने उनले जनाए ।

‘लकडाउनबारे कुनै छलफल भएको छैन, महामारी रोकथाम तथा नियन्त्रणमा यसअघिका प्रतिकार्य योजनालाई अद्यावधिक र पुनर्ताजगी गर्न एवं जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई पूर्ण पालना गराउन जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सक्रिय बनाइएको हो,’ प्रवक्ता बुढाले भने । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा वा जनस्वास्थ्यमा असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न निश्चित समयका लागि निषेधाज्ञा जारी गर्न पाउने व्यवस्था छ । आदेश उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवानाको व्यवस्था छ । 

गतवर्षको चैत ११ गते देशभर लकडाउन घोषणासँगै नेपाल र चीनतर्फका स्थल नाका बन्द गरिएको थियो । गत साउन २६ को मन्त्रिपरिषद् बैठकमार्फत भारततर्फका १३ र चीनतर्फका १ नाका खुलाएको थियो । कोभिडको त्रास र महामारी कम हुँदै गएपछि गत माघ ११ गते पुनः चीनतर्फ १ र भारततर्फका १५ नाका खुलाउने निर्णय भएको थियो । पछि दार्चुलास्थित भारतसँग सीमा जोडिएका ५ वटा पुलबाट पनि आवागमन खुला गरिएपछि अहिले चीन र भारतसँग ३५ नाका हुँदै आवागमन हुन्छ ।

यी अधिकांश स्थानबाट आवागमन गर्नेको अभिलेख र तापक्रम नाप्ने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको हो । खुला गरिएका अधिकांश नाकामा प्रहरी, सशस्त्र र स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा छ । त्यसबाहेक विभिन्न ५५ स्थानमा सशस्त्र प्रहरीले आफ्नै जनशक्तिबाट थप हेल्थ डेस्क सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले बताए । गृहले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्र पठाई संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशन पालना गर्न/गराउन निर्देशन दिएको छ ।

प्रवक्ता बुढाले महामारीविरुद्ध यसअघि चालिएका कदमलाई पुनर्ताजगी एवं क्वारेन्टाइन र आइसोलेसन सेन्टरलाई अद्यावधिक गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि बताए । महामारी जोखिमको मूल्यांकन गरेर डीसीसीएमसी र जिल्ला प्रशासन कार्यालयले नै आवश्यकता हेरेर सेवा प्रवाहलाई नियन्त्रित रूपमा सञ्चालन गर्न सक्ने भएकाले लकडाउनलगायतका कठोर निर्णयबारे कुनै छलफल नभएको उनले स्पष्ट पारे ।

‘जनमानसमा फेरि पनि लकडाउन हुने हो कि भन्ने त्रास देखियो, यसमा सत्यता छैन, हामीले जोड दिएको विषय भनेको दोस्रो चरणको कोरोना महामारी फैलिन सक्छ, यसप्रति सबै जना सचेत र सजग बन्नुस्, जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुस्, अनावश्यक भीडभाडमा नजानुस् मात्र भन्न खोजेका हौं, त्यसकै लागि जिल्ला संकट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाइएको हो ।’ 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully