भारतमा एकैदिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा एकैदिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी

नयाँदिल्ली — भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार भारतमा ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

मुम्बई रेल्वे स्टेसनमा यात्रुको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी तस्बिर : रोयटर्स

५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ । शुक्रबार मात्रै भारतमा ३२ हजार सक्रिय केस थपिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेकै बेला नयाँ प्रकारको भाइरसको त्रास थपिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलोपटक कोरोना भाइरसको थप परिवर्तित ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाएको हो । त्यसैगरी, यसअघि नै पुष्टि भएका कोरोनाका नयाँ प्रकारका जीवाणुहरू पनि पर्याप्त संख्यामा भेटिएका मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

भारतको पश्चिम बंगाल र असम विधानसभाको पहिलो चरणको मतदान जारी

एजेन्सी

कोलकाता — भारतको पश्चिम बंगाल र असम राज्यको विधानसभा चुनावअन्तगर्त शनिबार पहिलो चरणको मतदान भइरहेको छ ।

पश्चिम बंगालको ५ जिल्लाका ३० विधानसभा सिट र असमको ४७ सिटमा पहिलो चरणअन्तगर्त शनिबार मतदान भइरहेको हो । पश्चिम बंगाल विधानसभामा २ सय ९४ सिट रहेको छ भने असममा १ सय २६ सिट ।

दुवै राज्यमा कडा सुरक्षाका बीच मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट र नाजिराजस्ता हाई–प्रोफाइल मानिएका सिटमा पनि मतदान भइरहेको छ । माजुलीबाट असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल चुनावी मैदानमा उत्रिएका छन् भने असम विधानसभा अध्यक्ष हितेन्द्रनाथ गोस्वामीले जोरहाटबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै कांग्रेस नेता देवव्रत सैकिया नाजिराबाट उम्मेदवार बनेका छन् । भारतीय चुनाव आयोगका अनुसार असममा २६४ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा २३ महिला पनि छन् । असमको १२ जिल्लाका करिब ८१ लाख मतदाताले शनिबार मतदान गर्ने अपेक्षा राखिएको छ ।

शनिबार पश्चिम बंगालको केही संवेदनशील क्षेत्रमा पनि मतदान भइरहेको छ । माओवादीको पकड रहेका क्षेत्रमा पनि चुनाव भइरहेकाले सुरक्षाकर्मीको तैनाथी कडा पारिएको छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ ।

असममा भारतीय जनता पार्टीको सरकार छ भने पश्चिम बंगालमा तृणमूल कंग्रेसकी अध्यक्ष ममता बनर्जी मुख्यमन्त्री छन् । पश्चिम बंगालमा भारतीय जनता पार्टी र तृणमूल कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×