पर्यटकको ५ हजार डलरको कोरोना बिमा हटाइयो 

नेपाल घुम्न आउने पर्यटकले अब ७ दिन होटेल क्वारेन्टाइन बस्न नपर्ने

चैत्र १३, २०७७

सुरज कुँवर

काठमाडौँ — पर्यटन व्यवसायीहरुको दबाबपछि सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई अनिवार्य गरेको प्रतिव्यक्ति ५ हजार डलर (करिब ६ लाख रुपैयाँ) को बिमा प्रावधान हटाएको  छ ।

सरकारले विदेशी पर्यटकको आवागमनलाई वृद्धि गर्न ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७’ बिहीबार सार्वजनिक गरेको छ ।

यो मापदण्डले यसअघि असोजमा पर्यटन विभागले जारी गरेको कम्तीमा ५ हजार डलर (५ लाख ८१ हजार रुपैयाँ) बराबरको अनिवार्य बिमा प्रावधान र ७ दिनको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने प्रावधान हटाइदिएको छ । ‘संसारमै कतै नभएको बिमा पोलिसीको विषय नयाँ मापदण्डले हटायो, अब नेपालमा पर्यटक आगमनका लागि यो धेरै राम्रो निर्णय भयो,’ विभागकी निर्देशक मिरा अचार्यले भनिन् ।

यो नियम हटाउनुपर्ने माग गर्दै यसअघि काठमाडौंका ३६ वटा पर्यटन व्यवसायी तथा श्रमिकहरुका संगठनले सरकारलाई १० बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

त्यसैगरी नेपालमा पर्वतारोहण वा पदयात्राका लागि आउने पर्यटकले अब ७ दिन काठमाडौंका होटलमा क्वारेन्टाइन पनि बस्नु नपर्ने भएको छ । नेपालका लागि जहाजमा बोर्डिङ हुनुभन्दा बढीमा  ७२ घण्टा अघिको स्वाबको कोरोना पीसीआर परीक्षण गरी नेगेटिभ भएको कागजात पस गर्नुपर्ने छ ।

मन्त्रिपरिषदको अघिल्लो बिहीबारको बैठकले स्वीकृत गरेको यो मापदण्डले नेपाल आइसकेपछि विदेशी पर्यटकले नेपाली एजेन्सीसँग समन्वय गरेर आफ्नै खर्चमा पीसीआर गर्नुपर्ने छ । पीसीआरको नतिजा आइसकेपछि मात्रै होटलबाट निस्किन पाइने छ । यदि पीसीआर पोजेटिभ आएमा विदेशी पर्यटकले आफ्नै खर्चमा होटलमा क्वारेन्टाइन बस्नुपर्ने छ ।

त्यसैगरी अब विदेशी पर्यटकले उनीहरुको मुलुकमा रहेको नेपाली नियोगबाट भिसा नपाएमा वा कुनै कठिनाइ भएमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन बिन्दुमा अन एराइभल भिसा पाउने छन् । यसअघि सरकारले अन एराइभल भिसामा पनि रोक लगाएको थियो । तर, सडकमार्गबाट नेपाल आउने विदेशीले भने विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्रै नेपाल प्रवेश पाउने छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully