बुधबारको संसद् बैठकमा एमाले र माओवादी केन्द्र सत्तापक्षमै तर अलगअलग बस्ने

फाल्गुन २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू अलगअलग बस्ने भएका छन् । संसद् सचिवालयका अनुसार एमाले र माओवादी केन्द्रका सांसदहरूलाई सत्तापक्षकै लहरमा अलग–अलग बस्ने गरी व्यवस्था मिलाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘आजदेखि उहाँहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा संसद्‍मा उपस्थित हुनुहुन्छ । उहाँहरू सत्ता पक्षमै बस्ने भए पनि अलगअलग बस्ने व्यवस्था गरिएको छ ।’

२३ गतेदेखि सुरु भएको संसद् अधिवेशन त्यस दिन कांग्रेसको अवरोध र साबिकको नेकपाका दाहाल–नेपाल समूहको बहिष्कारका कारण प्रभावित भएको थियो । बुधबार १ बजेदेखि पुन: संसद् बैठक बस्दै छ । सर्वोच्च अदालतको आइतबारको फैसलासँगै नेकपा एकता खारेज भएको ठहर भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किएका हुन् ।

माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । बुधबार पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बुधबारको संसद् बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ  । सर्वोच्चको फैसलापछि मंगलबार निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र साबिककै जस्तो अलग–अलग दलका रूपमा कायम रहेको निर्णय गरेको थियो । आयोगले  संघीय संसद् सचिवालय र सातवटै प्रदेशसभा सचिवालयलाई मंगलबारै त्यसबारे जानकारी गराएको थियो।

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully