जसपामा बहसको केन्द्र : सत्ता सहकार्य कोसँग गर्ने ?

फाल्गुन २५, २०७७

जयसिंह महरा

काठमाडौँ — जनता समाजवादी पार्टी प्रतिनिधिसभामा तेस्रो ठूलो दल हो । अहिले उसलाई अन्यथा नभए सत्ताको निर्णायक बन्ने अवसर प्राप्त भएको छ । प्रतिनिधिसभाको ठूलो दल बनेको नेकपा आन्तरिक कलह र सर्वोच्च अदालतको फैसलाले विभाजित भएसँगै सत्ता निर्माणमा जसपाको भूमिका बढेको हो ।

नेकपा अस्तित्व सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहालबाट ऋषिराम कट्टेललाई दिने फैसला गरेसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । त्यो पनि यस्तो बेला जब ओली र दाहालबीच पानी बाराबारको अवस्था थियो । 

संसद्को ठूलो दल ओलीको नेतृत्वमा नेकपा एमाले छ । प्रतिनिधिसभा विघटनपछि ओलीसँग बाहिरी दलहरू त के बाध्यतावश एमालेमै फर्किन चाहेका माधवकुमार नेपाल पक्ष पनि सहकार्य गर्न कठिन मानिरहेका छन् । 

'राजनीतिमा जे पनि सम्भव छ' भन्ने कथन वास्तविकतामा परिणत भई एमाले र कांग्रेसले सरकारमा साझेदारी गरे वा ओलीलाई दाहाल नेतृत्वको माओवादी केन्द्रले काँध थापिरहे मात्रै जसपाको सरकार गठनमा भूमिका रहने छैन । तर, यी दुवै सम्भावना न्यून रहेकाले नै जसपाको भूमिका सरकार निर्माणका लागि ओली, दाहाल र शेरबहादुर देउवाले खोजिरहेका छन् । 

राजनीति यस्तो अवस्थामा आइपुगेको बेला पहिलोपटक जसपाको संसदीय दलको बैठक बसेको छ । राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बनेको करिब १० महिनापछि मंगलबार यो पार्टीको संसदीय दलको बैठक बसेको हो । संसदीय दलको बैठकमा वर्तमान राजनीतिक उल्झन र त्यसमा जसपा कहाँनेर उभिने भन्ने विषयमा बहस भएको थियो ।

बैठकमा सहभागी नेताहरूका अनुसार सुरुमै अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता समीकरणबारे छलफल गर्नका लागि नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पठाएकोबारे कुरा उठेको थियो । पूर्व राजपा पक्षका नेताहरूलाई मात्रै किन पठाएको र समाजवादी पार्टीका नेताहरूलाई थाहै नदिइ त्यस्तो किन गरिएको हो भनेर अरु नेताहरूले कुरा उठाएका थिए । 

अध्यक्ष ठाकुरले भने ओलीबाट सांसद रेशम चौधरीलगायतका मुद्दामा छलफल गर्न प्रस्ताव आएको जवाफ दिएका थिए । ओलीपक्षसँग गरिएको कुराबारे बैठकमा उनले भनेका थिए, 'रेशम चौधरीको मुद्दा फिर्ता र लाल आयोगबारे कुरा गर्न भनेर उहाँहरूले बोलाउनुभएको हो । त्यसका लागि दुई जनालाई आकस्मिक रूपमा दुई जनालाई पठाएको हुँ । यी पूर्वसर्त पूरा गर्नुभयो भने बाँकी कुरा गरौंला भनेर जवाफ दिइएको छ ।' कार्यदल गठन गरिएको होइन भनेर उनले प्रष्टिकरण दिएका थिए । 

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वमा रहेको अनुभव राखेका थिए । उनले ओलीको सरकारमा स्वास्थ्य तथा जनसंख्या र कानुनमन्त्री भएर काम गरेका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी, अलोकतान्त्रिक कदम चालेको भन्दै उनले चर्को आलोचना गरेका थिए । 'जसपाको चरित्र ओली प्रवृत्तिसँग मेल खाँदैन भन्ने कुरा उहाँले राख्नुभयो,' जसपाका एक सांसदले भने । 

'ओलीसँग कुनै पनि सर्तमा सत्ता साझेदारी हुँदैन त्यसको कुरै नगरौं भन्नुभएको थियो । ओलीसँग सरकारमा जानु भनेको प्रतिनिधिसभा विघटनपछि पार्टीले गरेका निर्णयको विरुद्धमा हुन्छ । त्यो सम्भव पनि छैन भनेर कुरा राख्नुभएको थियो,' यादवको कुरा उल्लेख गर्दै ती सांसदले भने । 

राजकिशोर यादवले भने जसपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेका थिए । उनले पार्टीलाई अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारीमा लाग्नुपर्ने सुझाव दिएका थिए । 'वर्तमान अवस्थामा नेतृत्वका लागि कसरी हुन्छ अवसर खोज्ने र पार्टीको मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ,' उनले भनेका थिए, 'नेतृत्वसहित जाने तयारी गर्नुपर्‍यो । हाम्रै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ ।' लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध हुने गठबन्धन बनाउन नहुने यादवको धारणा थियो । 

सांसदहरू मोहम्मद इस्तियाक राई र प्रदीप यादवले प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यबारे सोच्नै नसकिने धारणा राखेका थिए । 

सरकार गठनबारे पार्टीको तर्फबाट नेताहरू किन पठाइयो भन्ने प्रश्न पनि यादवले उठाएका थिए । 'त्यो विषयमा पार्टीमा छलफल भएको हो कि होइन ? बाहिर कुरा आएअनुसार हो भने त्यो त राजपाको मात्रै कार्यदल बन्यो, समाजवादी पार्टीको पक्षलाई जानकारी नै छैन ?'

सांसदहरूले बारम्बार प्रश्न उठाएपछि कर्णले कुनै औपचारिक निर्णय भएर सरकार गठनबारे छलफल गर्न नगएको प्रष्टिकरण दिएका थिए ।  'रेशमबारे छलफल गरौं, हामी प्रधानमन्त्रीका प्रतिनिधि हौं भनेर उहाँहरूले बोलाउनुभयो । हामी गयौं । त्यसै भेटलाई सत्ता समीकरणबारे छलफल हो भनेर दुष्प्रचार गरिएको हो । उहाँहरूसँग साइबर सेना छन्, त्यसैलाई लगाएर दुष्प्रचार गरिएको हो,' कर्णले भनेका थिए । 

नेता राजेन्द्र महतोले भने बैठकमा अहिले नै सरकारमा सहभागिताबारे जसपाले निर्णय लिइहाल्ने अवस्था नरहेको बताएका थिए । 'ओलीसँग कांग्रेस मिलेमा दुई तिहाई पुगिहाल्छ । ओली पनि चुनाव भनिरहेको छ र कांग्रेस पनि निर्वाचन भनिरहेको छ । उहाँहरूको गठबन्धन बने हाम्रो भूमिका हुँदैन,' उनले भनेका थिए, 'हामी चौबिसै घण्टा सतर्क भएर हेरौं ।' सबैले विगतमा सहमति गरेर पछि कार्यान्वयन गरेको उनले स्मरण गरेका थिए । 

जसपाले तत्काल चुनावमा जाने पक्षमा लाग्न नहुने केही सांसदहरूको भनाइ थियो । उनीहरूले केही पहिले मात्रै गठन भएको पार्टीको संगठन निर्माण गर्नुपर्ने, जनाधार बढाउनुपर्ने र त्यसपछि मात्रै नियमित निर्वाचनका लागि तयार बन्नुपर्ने कुरा नेतृत्वलाई सुझाएका थिए । सत्ता समीकरणबारे निर्णय लिँदा चुनाव, मतदाता र समर्थकमा कस्तो असर गर्ला भन्ने ध्यानमा राख्नुपर्ने उनीहरूको सुझाव थियो । दलको बैठकमा अधिकांश सांसदहरूले प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्य गर्न नहुने पक्षमा धारणा राखेका थिए । 

अन्तिममा बोलेका अध्यक्ष ठाकुरले राजनीतिक दलको गठन सरकारमा जानका लागि र सत्ता सञ्चालनमार्फत नै जनताका अधिकार र पक्षमा काम गर्न हुने तर्क राखेका थिए । 'राजनीतिक दल च्यारिटिएबल संस्था त होइन । कुनै पनि राजनीतिक दलको गठन सत्ता सञ्चालन र सरकार गठनका लागि नै हुन्छ,' उनले भनेका थिए । 

राजपाका नेताहरूका अनुसार ओलीसँग सहकार्य गर्नेबारे ठाकुर केही लचिलो छन् भने अरु नेताहरू त्यसको कट्टर विरोध गरिरहेका छन् । ठाकुरले चाहेजसरी ओलीसँग सत्ता साझेदारी गर्नका लागि निर्णय गराउन सहज नहुने जसपाका नेताहरूको भनाइ छ । 

संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने उपस्थित थिएनन् । उनी स्वास्थ्यका कारण उपस्थित नभएको जसपाका नेताहरूले जानकारी दिए । 

बैठकपछि नेता राजेन्द्र महतोले संसदीय दलको विधानको बारेमा छलफल भएको बताए । विधानको मस्यौदा वितरण गरिएको र त्यसको अध्ययनपछि पारित गर्नका लागि बैठक बस्ने र त्यसबाट दलको नेता चयन गरिने बताए । 'त्यसपछि समसामयिक राजनीतिको कुरा गर्‍यौं । जसपासँग वार्ता गर्न चाहने र जसपाले वार्ता गर्न चाहेको सबैसँग वार्ता गर्छौं र सबै अवस्था बुझेर पार्टीले आश्यक निर्णय लिनेछ । वार्ता कमिटी पनि निर्माण गर्ने कुरा भएको छ । जो हामीले गर्नेछौं,' उनले भनेका थिए । अनौपचारिक रूपमा रहेको भनिएको वार्ता कमिटीलाई शिर्ष नेताहरूले पूर्णता दिने र सबै राजनीतिक दलहरूसँग छलफल गर्ने उनले बताए । औपचारिक रूपमा कार्यदल गठन गर्नुपर्ने र पारदर्शिता अपनाउनुपर्ने सांसदहरूको माग थियो । 

सत्ता साझेदारीबारे विगतका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीले निर्णय गर्ने महतोको भनाइ थियो । उनले भने, 'सरकार र सत्ताको कुरा त्यति सहज छैन ।'

प्रतिनिधिसभा पुनःस्थापना

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully