कांग्रेस पर्ख र हेरकै रणनीतिमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस पर्ख र हेरकै रणनीतिमा

ओलीसँग सहकार्य नगर्न अधिकांश सांसदको जोड
ऋषिराम पौड्याल

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ ।

नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि पहिलोपटक शुक्रबार बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकका सांसदहरूले नेतृत्वलाई सरकारमा जान हतारिन नहुने सुझाव दिएका थिए । उनीहरूले नेकपा फेरि एक हुने सम्भावना रहेको तर्कसमेत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुनेमा अधिकांश सांसदको जोड थियो । उनीहरूले आफैंले नेतृत्व पाए मात्र सरकारमा जानुपर्ने धारणा राखे । गगनकुमार थापासहितका केही सांसदले कांग्रेसले सरकारको आस गर्नुभन्दा २ वर्षपछि हुने निर्वाचनलाई ध्यान दिनुपर्ने बताए । बैठकमा दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवानिकट सांसदहरूले पनि ओलीसँग तत्काल सहकार्य गर्नु उचित नहुने सुझाव दिए ।

बैठकमा सांसदहरूले अहिलेको प्रतिनिधिसभामा दुई तिहाइनजिक रहेको कम्युनिस्ट पार्टीका कारण मुलुक गलत दिशामा गएको निष्कर्ष निकालेका छन् । अधिकांश सांसदले नेकपाका दुवै समूह कांग्रेसका लागि बराबर भए पनि भर्खरै प्रतिगमन सच्चिएको अवस्थामा सैद्धान्तिक रूपमा ओलीसँग सहकार्य गलत हुने धारणा राखे । देउवाले बैठकको सुरुवात गर्दै सांसदहरूलाई सत्ता समीकरणको कुरा नउठाउन र संसद्मा प्रतिपक्षको प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सुझाव राख्न निर्देशन दिएका थिए । तर सांसदहरूले आफ्ना कुरा राख्न छाडेनन् ।

देउवानिकट भरतकुमार शाह, राजन केसी, देवेन्द्रराज कँडेललगायतले ओलीसँग सहकार्य गर्न नहुने बताए । उनीहरूले सत्ता सहभागिताको कुरा उठाउँदा देउवाले बीचमै त्यस विषयमा प्रवेश नगर्न निर्देशन दिएका थिए । सचेतक पुष्पा भुसाल गौतमले सरकारले संविधान मिचेको लगायत तीन वर्षमा गरेका जनविरोधी निर्णयलाई कांग्रेसले चुनावी मुद्दा बनाउनुपर्ने सुझाव दिइन् । सांसद थापाले कांग्रेसले अहिले सत्ता प्राप्तिभन्दा पनि आगामी आमनिर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुलाई बैठकले संविधानको जित भएको ठहर गरेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — ३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव-कमलाजाको मूर्ति हस्तान्तरण गर्दै

अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद पनि दिए । सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको पनि राजदूत खतिवडाले प्रशंसा गरे ।

उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिंगाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो ।

आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत बनेको छ । वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् ।

१२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु(नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख छ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २२, २०७७ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×