१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ओलीले राजीनामा दिए उहाँ र देशका लागि सहज हुन्छ नत्र संसद्‍बाट समाधान खोज्छौं : दाहाल 

'जसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भनेर सडकमा गए ती दलहरूसँग मुद्दाको हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो भने भोलि सरकार बनाउन पनि सहकार्य हुन्छ । मलाई लाग्छ एक-दुई दिनमा टुंगो लाग्छ ।'
जयसिंह महरा

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने बताएका छन् । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भइसकेपछि प्रधानमन्त्रीबाट राजीनामा गर्नु ओली र देशका लागि सहज हुने दाहालको भनाइ थियो। 

ओलीले राजीनामा दिए उहाँ र देशका लागि सहज हुन्छ नत्र संसद्‍बाट समाधान खोज्छौं : दाहाल 

दाहाल-माधवकुमार नेपाल पक्षको नेकपा संसदीय दलको बैठकबाट दलको नेता निर्वाचित भएपछि दाहालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका हुन् । उनले संसदीय दलको बहुमत सदस्यले आफूलाई नेतामा निर्वाचित गरेपछि ओलीले राजीनामा दिनुपर्ने बताए ।

'अब आउने दिन सहज बनाउने हो भने केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि र आज संसदीय दलको बहमुत, झन्डै ११५ जना सांसदको हस्ताक्षरसहितको बहुमतले मलाई दल नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ,' अध्यक्ष दाहालले थपे, 'अब उहाँले राजीनामा दिनुभएन भने संविधान, नियम, कानुन, प्रक्रियाअनुसार संसद्बाट नै समाधान खोज्छौं ।'

अध्यक्ष दाहालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नगरेमा संसद्‍मा अविश्वासको प्रस्ताव अगाडि बढाउन आफूहरू बाध्य हुने बताए । प्रधानमन्त्रीले अझैसम्म पनि राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव अगाडि बढाएर संसदीय प्रक्रियाअनुसार हटाउन बाध्य हुने उनको भनाइ थियो । 'अविश्वासको प्रस्तावमा जान उहाँले बाध्य पार्नुभएको छ । अब त्यहीँ बाटो जाने हो,' उनले भने ।

अबको प्रधानमन्त्री तपाईं नै हो भन्ने प्रश्नमा भने दाहालले संसदमा रहेका अरु राजनीतिक दलहरूसँग छलफलपछि निर्णय लिइने बताए । अबको सरकार गठनबारे दलहरू छलफलमा रहेको बताउँदै दाहालले भने, 'सबै राजनीतिक दलहरू जो संसद विघटनको विरुद्धमा हुनुहुन्छ, जसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भनेर सडकमा गए ती सडकमा गएका दलहरूसँग मुद्दाको हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो भने भोलि सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ । मलाई लाग्छ एक-दुई दिनमा टुंगो लाग्छ ।'

प्रधानमन्त्रीले राजीनामा नगरेको र आफू नेकपा संसदीय दलको नेता भएको अवस्थालाई दाहालले चुनौती र सम्भावनाको रहेको बताए । आफू संसदीय दलको नेतामा निर्वाचित हुनु कानुनअनुसार भएको उनको प्रष्टिकरण थियो ।

प्रतिनिधिसभा विघटन भएपछि पुस ९ गते पनि दाहाललाई नेकपा दाहाल-नेपाल पक्षले संसदीय दलको नेतामा निर्वाचित गरेको थियो । तर फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सोसँग सम्बन्धित भएर गरिएका सबै निर्णय बदर भएको फैसला गरेको थियो । दाहाल-नेपाल पक्षले उक्त निर्णय राजनीतिक भएको तर शुक्रबारको निर्णय भने कानुन बमोजिम भएको जानकारी दिएको छ ।

संसदीय दलका २५ प्रतिशत सांसदहरूले मुख्य सचेतक देवप्रसाद गुरुङलाई पत्र लेखेको र सोहीअनुसार बैठक बोलाएर ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बैठक बसेर दलको नेतामा दाहाललाई निर्वाचित गरिएको हो । दलको उपनेता भने नेता दाहालले निर्वाचित गर्ने खनालले बताए ।

'आज संसदीय दलको बहुमत सदस्यहरूको उपस्थितिमा मलाई दलको नेता निर्वाचित गरेको छ । त्यो सबै वैधानिक रूपमा दलका २५ प्रतिशत सदस्यले माग गरेअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले मलाई निर्वाचित गरेको हुनाले यो पटक मेरो राजनीतिक मात्रै होइन वैधानिक ढंगले पनि दल नेताको जिम्मेवारी मैले प्राप्त गरेको छु,' दाहालले भने, 'मैले यसलाई अवसर र चुनौतीको रूपमा लिएको छु ।'

दाहालले संसदीय दलको बैठकमा ओली पक्षमा लागेका सांसदहरूलाई पनि पार्टीमा फर्किन आग्रह गरेको बताए । उनले ने, 'मैले दलको बैठकमा भने पनि जो माननीय सदस्यहरू या पार्टीका साथीहरू भ्रममा हुनुहुन्छ र केपी गुटमा हुनुहुन्छ, उहाँहरूलाई मैले गम्भीरतापूर्वक जिम्मेवारीका साथ अपिल गरेको छु । पार्टी यही नै हो सबै यसमा केन्द्रित हौं, संसदीय दल भनेको यही नै हो । यही संसदीय दलमा केन्द्रित हुन अपिल गरेको छु ।'

प्रकाशित : फाल्गुन २१, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?