मुलुक २०७५ जेठ ३ अगाडि पुग्यो : ज्ञवाली 

फाल्गुन २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा विवादसम्बन्धी फैसलाले मुलुकको राजनीति तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको दिन २०७५ जेठ ३ गतेभन्दा अगाडि पुर्‍याएको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बताएका छन् । 

प्रतिनिधिसभाको बैठकपछि आइतबार मन्त्री तथा साबिकको नेकपाका स्थायी कमिटी सदस्य रहेका ज्ञवालीले फैसला सबैले मान्नुपर्ने पनि बताएका छन् । 

'मुलुक २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा पुगेको छ । अब यसले दुई पार्टीको बीचमा एकताका लागि नयाँ आधार पनि खोलिदिएको छ,' केपी शर्मा ओलीनिकट नेता ज्ञवालीले भने । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताका आधार कमजोर रहेको यी तीन वर्षका अनुभवले सिकाएको ज्ञवालीको भनाइ थियो । एकताका आधार, विचार र संरचनाले गन्तव्यमा पुर्‍याउन नसकेको उनले बताए । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय  बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको विवादबारे आइतबार फैसला सुनाएको थियो । नेकपा पार्टीको नाम ऋषि कट्टेललाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । 

उक्त फैसलालाई लिएर नेकपाका दाहाल-नेपाल पक्षले असन्तुष्टि जनाएका छन् भने ‌ओली पक्षले सन्तुष्टि व्यक्त गरेको छ । ज्ञवालीले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला आफूहरूलाई चित्त नबुझेको र आइतबारको फैसला अरुलाई चित्त नबुझे पनि आफूहरूले मानेझैं मान्नुपर्ने तर्क गरे । 

'आज सम्मानित सर्वोच्च अदालतले गरेका फैसलाले कतिपयलाई असहज लागेको होला । हामीलाई पनि फागुन ११ गते सम्मानित सर्वोच्च अदालतले फैसला गर्दा एउटा कोर्समा सोचका साथ अगाडि बढेको कोर्समा असहज त लागेको थियो होला तर हामीले त शिरोधार्य गरेर अगाडि बढेका छौं । सरकार कार्यान्वयन गरेर अगाडि बढेको छ ।'

सर्वोच्च अदालतले गरेको फैसला सबैले मान्नुपर्ने मन्त्री ज्ञवालीको आग्रह थियो । 

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully