सत्ता समीकरणबारे छलफल हुने
काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक परिवेश र सत्ता समीकरणबारे बैठकमा छलफल हुने बताइएको छ ।
मंगलबार पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । मंगलबारको बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो ।
बैठकपछि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । अध्यक्ष दाहालले बुधबारको बैठकमा देउवा र भट्टराईसँग भएको कुराकानी ब्रिफिङ गर्ने उनको सचिवालयले जनाएको छ ।
मंगलबार कांग्रेस र जसपासँगको छलफल सकारात्मक भएको माओवादी केन्द्रको दाबी छ । मंगलबार स्थायी कमिटी बैठक सुरु हुनु पहिला कांग्रेस नेता मिनेन्द्र रिजालले दाहाललाई भेटेका थिए ।
सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका हुन् ।
साथै एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता आ–आफ्नै पूर्ववत् पार्टीमा रहने भएका छन् । २०७५ जेठ ३ मा भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले अस्वीकार गरेको हो ।
