कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

सन्जु पौडेल

तिलोत्तमा — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार नै लोकतन्त्रको रक्षा गर्ने सरकार भएको बताएका छन् ।

अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढल्दैन : अर्थमन्त्री पौडेल

बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने बताए ।

‘आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल हुँदैनन्’, उनले भने, ‘जनताले साथ दिएको केपी शर्मा ओली नेतृत्वको सरकार नै हरेक तरिकाबाट लायक सरकार हो ।’ उनले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताए ।

विकासका योजनामा धेरै काम गर्न बाँकी रहेको भन्दै पौडेलले विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्ने बताए । उनले सपनलाई योजनामा ढालेर कार्यान्वयन गर्नका लागि सरकार हरदम प्रयासरत रहेको पनि बताए । विकासदेखि हरेक सन्दर्भमा गुणात्मक काम भइरहेको र काम गरेको देख्न नसक्नेहरुले धारिलो प्रहार गरे पनि असफल भएको उनले बताए ।

लोकतन्त्रको स्थापना भएपछि जनता नै सर्वव्यापी भएको सन्दर्भमा अहिलेको सरकार जनताको फैसलालाई सर्वस्व मानी अघि बढेको उनले बताए । ‘राजाको शासन फालेर जनतालाई नै शासनको जिम्मेवारी दिएका हौं’, उनले भने, ‘जनतालाई केन्द्र भागमा राखेर प्रधानमन्त्री नेतृत्वको पार्टीले काम गरिरहेको छ ।’ बाहिरदेखि सरकारलाई ढलाउने प्रयास भइरहे पनि जनताले रुचाएको वर्तमान सरकार पछि नहट्ने पौडेलको भनाइ थियो । विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पौडेलको दाबी गरे ।

प्रकाशित : फाल्गुन २०, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?