सरकार र चन्द समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको छ : राजन भट्टराई
इकान्तिपुर डेस्क

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । 

सरकार र चन्द समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

उनले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको पनि उनले दाबी गरेका छन् । वार्ता सकारात्मक निष्कर्षमा पुग्ने भट्टराईले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्,' नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।'

बुधबार बिहान मात्रै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको थियो । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए ।

पहिलो चरणको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए । बुधबार बालुवाटारमा भएको सरकार र चन्द समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको पनि गृहमन्त्री थापाले जानकारी दिएका थिए ।

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ । सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

यो पनि पढ्नुहोस्ः

सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकियो

प्रकाशित : फाल्गुन १९, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?