चन्द समूहसँगको वार्ताबाट छिट्टै सुखद परिणाम आउनेछ : गृहमन्त्री थापा

इकान्तिपुर डेस्क

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।

चन्द समूहसँगको वार्ताबाट छिट्टै सुखद परिणाम आउनेछ : गृहमन्त्री थापा

बुधबार बालुवाटारमा भएको सरकार र चन्द समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको पनि गृहमन्त्री थापाले जानकारी दिएका छन् ।

सरकारी वार्ता टोलीको संयोजकसमेत रहेका गृहमन्त्री थापाले सामाजिक सञ्‍जालमा लेखेका छन्, ' मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।'

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ । सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

प्रकाशित : फाल्गुन १९, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?