सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकियो

वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीको भनाइ, आगामी वार्ताको मोडालिटीबारे छलफल
मातृका दाहाल, बबिता शर्मा

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए ।

सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले आजको वार्तामा आगामीका वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताए । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता/कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ ।

चन्द निकट एक नेताका अनुसार बुधबारको वार्तामा दुवै पक्षबीच एउटा मुद्दामा सहमति बनेको छ । 'सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने थियो । तर, वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ । त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको बुझेको छु,’ ती नेताले भने । यद्यपि यो सहमतिबारेको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन । आगामी वार्ता बिहीबार हुने पनि ती नेताले बताए ।

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।

सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो । मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १९, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?