१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'चन्द समूहसँग वार्ताको प्रयास सकारात्मक'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूह र कांग्रेसले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । चन्द समूहसँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले सरकार र विद्रोही पक्ष दुवैलाई प्रचारबाजी र जनताको भावनासँग खेल्ने काम नगर्न सचेत गराएका हुन् । 

'चन्द समूहसँग वार्ताको प्रयास सकारात्मक'

चन्द समूहसँग वार्ता गर्ने सरकारको कदमलाई कांग्रेसले स्वागत गर्दै प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई र शक्ति संचयको रुपमा प्रयोग नगर्न विद्रोही पक्षलाई सचेत गराएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्तत: निकास शान्तिपूर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । तर बद्लिँदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिँदै वार्ता टोली गठन गरेर प्रचारबाजी मात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ती नगर्न सरकारलाई सचेत गराए । चन्द समेतको सहभागितामा भएको 'जनयुद्ध' र कांग्रेसलगायत दलहरुले गरेको शान्तिपूर्ण आन्दोलापछिको बाह्र बुँदे समझदारी र सोही समझदारीको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिधि भित्रैबाट समाधान खोजी देशलाई निकास दिन पनि उनको अपील छ ।

नेकपा दाहाल-नेपाल समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुऱ्याउन नभई अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’को संज्ञा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको टिप्पणी उनले गरे ।

सर्वोच्च अदालतको फैसलापछि सर्वत्र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सर्वत्र चर्चा भईरहेका बेला ध्यान अन्यत्र मोड्नका लागि सरकारले वार्ता टोली गठन गरेको तर्क उनले गरे । तर उनले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउने ढंगले वार्ता टोली गठन गरिएको हो भने त्यसबाट आफूहरु खुसी नै हुने बताए ।

प्रकाशित : फाल्गुन १८, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?