चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन

फाल्गुन १८, २०७७

जयसिंह महरा

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता चन्दसँग वार्ता हुन लागेको संकेत गरिरहेका थिए। सोमबार मात्रै पोखरामा प्रधानमन्त्री ‌ओलीले चन्द समूहलाई शान्तिपूर्ण रुपमा मूलधारको राजनीतिमा आउन आग्रह गरेका थिए ।  त्यसअघि चन्दले फागुन ८ गते विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

सरकार चन्द समूह वार्ताचन्द समूह

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully