सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली- समाचार - कान्तिपुर समाचार

सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

बबिता शर्मा

काठमाडौँ — सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र उदय चलाउने 'दीपक'को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

चन्द समूहद्वारा सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि सार्वजनिक गरिएको थिएन । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले इकान्तिपुरलाई बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाएको छन् ।

सरकारले पनि मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।

चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'नेपाल सरकारसँग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।'


सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्

जापानसँग वार्ता गर्न कोरिया तयार

एजेन्सी

सोल — दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आफूहरू जापानसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति मुनले दुई देशबीचका कैयौं ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न आवश्यक रहेको बताएका हुन् । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबुलमा बस्न तयार छ । मलाई लाग्छ सबै असमझदारीहरू त्यस्तो वार्ताबाट हट्नेछन्,’ मुनले भने ।

दक्षिण कोरियाको १०२ औं स्वतन्त्रता दिवसका अवसरमा मुनले राष्ट्रिय टेलिभिजनमार्फत गरेको सम्बोधनका क्रममा वार्ताको प्रस्ताव गरेका हुन् । विभिन्न विवादास्पद मुद्दाहरुका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध सुमधुर छैन ।

जापानले कोरियाली महिलाहरूलाई यौनदासीका रूपमा राख्ने गरेको छ । त्यसका साथै अन्य केही ऐतिहासिक र व्यापारिक मुद्दाबारे दुई देशबीच मतभेद जारी छ । ती विषयबारे दुई देशबीच विभिन्न समयमा वार्ता हुने गरेका भए पनि समाधान निस्केको छैन । पछिल्ला केही वर्षयता दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×