संविधान क्षतविक्षत हुनबाट जोगियो : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

फाल्गुन १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिएर मुलुकमा संविधानवाद र कानुनी शासन जीवितै छ भन्ने सन्देश दिएको बताएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसललापछि प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता दाहालले संविधान सही लिकमा आएको बताएका हुन् । 

कान्तिपुरसँगको कुराकानीमा उनी भन्छन् : 

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिएर मुलुकमा संविधानवाद र कानुनी शासन जीवितै छ भन्ने सन्देश दिएको छ । संविधान सही लिकमा आएको छ । संविधानवादसँग निरंकुशता र अधिनायकवादी चरित्र हार्छ भन्ने पनि यो फैसलाले सही सावित गरिदियो । प्रतिनिधिसभा पुनःस्थापना भएको थिएन भने संविधान लिकमा हुँदैनथ्यो, अधिनायकवादी र निरंकुशतापक्षधर हावी हुन्थे । संविधान क्षतविक्षत हुनबाट अदालतले जोगाइदियो ।

मुलुकमा जतिजति बेला असंवैधानिक कदम चालिएका छन्, त्यसत्यस बेला सर्वोच्चले संविधानवादका पक्षमा अग्रगामी फैसला गर्दै आएको छ । यो फैसलाले आफ्नो विगतको विरासतलाई पनि सर्वोच्चले कायम राखेको छ । शाही आयोग खारेजी होस् वा २०५२ सालमा मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन बदर, दुवै ऐतिहासिक थिए । २०३५ सालमा राष्ट्रिय पञ्चायतसँगको विवाद हुँदा पनि अदालतले संविधानको पक्षमा ऐतिहासिक फैसला गरेको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully