'जनताप्रति उत्तरदायी बन' भन्‍नेलाई ओलीले अरिंगाल र साइबर सेना लगाइदिन्छन् : डा. केसी

फाल्गुन ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली शक्तिले उन्मादमा रहेको बताएका छन् । शनिबार माइतीघर मण्डलमा भएको अहिंसात्मक नागरिक प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीले केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि नै नागरिक स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताए । 

डा. केसीले भने, ‘ओलीजी प्रधानमन्त्री भएको सुरुदेखि वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विरोध गर्ने अधिकार खोसे । ओलीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको छ ।’

त्यस्तै कसैले ‘जवाफदेही बन जनताप्रति उत्तरदायी बन’ भनेर ओलीलाई सचेत गराएमा साइबर सेना लगाएर आक्रमण गर्ने गरेको पनि डा. केसीले आरोप लगाए । उनले सम्बोधनका क्रममा भने, ‘जवाफदेही बन जनताप्रति उत्तरदायी बन भनेमा ओलीले कहिले अरिंगाल लाइदिन्छन्, कहिले साइबर सेना लाइदिन्छन् । केही दिनअघि सत्यतथ्य बोलेकै भरमा ओली नेतृत्वको सरकारले गिरफ्तार गऱ्यो ।’

त्यस्तै केपी ओली कामचलाउ प्रधानमन्त्री मात्रै भएको उल्लेख गर्दै उनले संवैधानिक निकायमा कसरी पदाधिकारी नियुक्त गर्न सक्छन् भन्ने प्रश्न पनि केसीले गरे । केसीले भने, ‘उनी त शक्तिले उन्माद भएका छन् । कुर्सी हल्लिन थालिसकेपछि आफूलाई उनले संविधानभन्दा माथि आफूलाई ठानेका छन् ।’ 

त्यस्तै आफ्ना मागहरू पूरा नभएमा फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने पनि केसीले बताए । 'अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा हुनुपर्ने', 'अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द हुनुपर्ने', र 'चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने' केसीको माग रहेको छ । यदि यी मागहरू पूरा नभएमा पूर्वघोषणाअनुसार नै अनशन सुरु गर्ने पनि डा. केसीले बताए । 

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully