प्रतिनिधिसभा विघटनको मुद्दा ११ गते ‘हेर्दाहेर्दै’ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा दुवै पक्ष र एमिकस क्युरीको रायसमेत सुनुवाइ गरेको सर्वोच्च अदालतले आगामी मंगलबारका लागि पेसी तोकेको छ । सुनुवाइ सकिएपछि इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहसनोट पेस गर्न दुई दिन समय तोकेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा ११ गते ‘हेर्दाहेर्दै’ मा

एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सकेपछि प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई ‘बहसनोट पेस गर्नुभयो ?’ भनी सोधेका थिए ।

जवाफमा पाण्डेयले आइतबार पेस गर्ने जवाफ दिएपछि जबराले ‘सोमबार ल्याए पनि हुन्छ’ भनेका थिए । त्यसपछि उनले मंगलबार फेरि ‘हेर्दाहेर्दै’ का लागि पेसी तोक्न आदेश दिए । त्यसो भए मंगलबार निर्णय सुनाउने (निसु) भनी कानुन व्यवसायीहरूले प्रश्न गरेका थिए । प्रधानन्यायाधीश जबराले भने, ‘होइन, निसुको त प्रश्नै भएन । १० गतेसम्म बहसनोट भयो । ११ गते हेर्दाहेर्दै सकियो, त्यही दिन पनि हुन सक्छ । १२ गते पनि हुन सक्छ ।’

शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता संग्रौलाले सीमित सरकारलाई असीमित अधिकार नहुने तर्क गरेकी थिइन् । उनले संविधानको धारा ७६ बारे धारणा राख्दै त्यसका उपधारा एकपछि अर्को चरणका रूपमा प्रयोग हुने बताइन् । उनले संविधानमा कुनै निषेध नगरिएकाले उही दलका सांसदहरूले पनि अविश्वासको प्रस्ताव पेस गर्न सक्ने जिकिर गरिन् ।

उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नहुने बताइन् । प्रधानमन्त्रीको अवशिष्ट अधिकार हुने दाबी गरिए पनि त्यो तहगत सरकारहरूको अधिकार बाँडफाँटका विषयमा रहेको उनको तर्क थियो ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?